गृहपृष्ठ स्वास्थ्य शिविरमा सात हजार बिरामीको परीक्षण

स्वास्थ्य शिविरमा सात हजार बिरामीको परीक्षण

बागलुङ बजारमा अयोजना गरिएको दुईदिने बृहत् स्वास्थ्य शिविरमा ७ हजार ९८३ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । ताइवान र नेपालका करिब ३ सय स्वास्थ्यकर्मीको सहभागितामा धवलागिरि अञ्चल अस्पतालमा बुधबार र बिहीबार दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिविरको पहिलोदिन बुधबार ३ हजार ८९३ र बिहीबार ३ हजार ९० ले उपचार, परामर्श तथा औषधी सेवा लिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए । लामो समयदेखि नशा रोगबाट पीडित बागलुङ नगरपालिका-४ का गौरी विकले निःशुल्क उपचार पाउँदा निकै खुसी व्यक्त गरे ।

नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, पारिवारिक औषधी, चिनियाँ (ताइवान) औषधी, बाल चिकित्सा, दन्त, हृदयरोग नशा, हाडजोर्नी, फोक्सोसम्बन्धी सेवा उपलब्ध गराइएको शिविर आयोजक रोटरी क्लब अफ बागलुङका सचिव दीपेन्द्र घिमिरेले जानकारी दिए ।

शिविरमा ताइवानबाट ३० चिकित्सकसहित १२० जनाको मेडिकल टिम, गण्डकी अस्पताल पोखरा, हिमालय आँखा अस्पताल पोखरा र धवलागिरि अञ्चल अस्पतालका करिब ५० चिकित्सकसहित १५० रोटरियन मेडिकल टिम, स्वयंसेवी, पोखरा हेल्थ साइन्स एकेडेमी, पश्चिम नेपाल स्वास्थ्य एकेडेमीका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

रोटरी इन्टरनेसल डिस्ट्रिक ३५२३ ताइवान (चीन) तथा रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपालको सहयोग तथा रोटरी क्लब अफ बागलुङ, धवलागिरि अस्पताल र रोट्रयक्ट क्लब अफ बागलुङको संयुक्त आयोजनामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा आएका ताइवानीले अस्पताललाई आवश्यक उपकरण तथा रामरेखा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेका थिए । नेपालमा स्वास्थ्य सेवा लिएर आउँदा निकै खुसी लागेको रोटरी इन्टरनेसनल डिस्ट्रिक ताइवानका गभर्नर जोयले खुसी व्यक्त गरे । (रासस)

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु