गृहपृष्ठ ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता
ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता
ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले शुक्रबार काठमाडौंमा हस्ताक्षर गरेका हुन् । दुवै बैंकको वाषिर्क साधारण सभा र राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु हुने बताइएको छ । सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी आफूहरु अगाडी बढेको भन्दै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा संजालभएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष ढकालले यसअघि ग्लोबलले १० विभिन्न वित्तीय संस्था र जनताले ७ वटासँग मर्ज गरिसकेको जानकारी दिए । जनता बैंकका अध्यक्ष रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीति बमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जमा जाने निर्णय गरिएको बताए ।
मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल नै हुने भएको छ । सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ र जनताको तर्फबाट २ जना रहने बताइएको छ ।
मर्जरपछि बैंकको सीईओ जनताका परशुराम कुँवर क्षेत्री रहनेछन् भने ग्लोबलका सीईओ महेश शर्मा ढकाल वरिष्ठ डेपुटी सीईओ हुने बताइएको छ । मर्जरपछि यो बैंक देशकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्बभन्दा बढी र कुल कर्जा लगानी २ खर्ब पुग्नेछ ।
बैंकको शाखा र सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । ३०० भन्दा बढी शाखा र ३ हजार २५० भन्दा बढी कर्मचारी रहने छन् । २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक सम्पर्क कार्यालय रहने बताइएको छ ।
प्रकाशित समय ०८:५७ बजे

















