गृहपृष्ठ प्रदेश २ झाडापखालाको उच्च जोखिममा

प्रदेश २ झाडापखालाको उच्च जोखिममा

झाडापखालाबाट हुने बाल मृत्युदर प्रदेश २ मा सबैभन्दा बढी रहेको एक प्रतिवेदनले देखाएको छ । नेपाल सीआरएस कम्पनीले प्रस्तुत गरेको कार्यपत्र ‘नेपाल डेमोग्राफिक्स हेल्थ इन्भेस्टिगेसन २०१६’ले प्रदेश २ झाडापखालाको जोखिममा रहेको औँल्याएको हो ।

नेपालको स्वास्थ्य क्षेत्रमा सन् १९७८ देखि नेपाल सरकार र यूएसएआईडीसँगको सहकार्यमा विभिन्न स्वास्थ्य सेवा दिँदै आएको सीआरएस कम्पनीको सो कार्यपत्रअनुसार प्रदेश २ मा झाडापखालको प्रकोपको स्थिति ९ प्रतिशत रहेको छ । समग्र देशमा भने त्यस्तो स्थिति ८.६ प्रतिशत रहेको कार्यपत्रमा उल्लेख छ । अन्य प्रदेशको तुलनामा प्रदेश २ मा जिंक चक्कीको प्रयोग ३.३ प्रतिशत मात्रै रहेको पनि प्रतिवेदनले देखाएको छ ।

झाडापखाला लाग्दा न्यूनीकरणका लागि पुनर्जलीय झोल (नवजीवन)को साथमा जिंक चक्की पनि प्रयोग गरेमा बालबालिकाको शरीरमा शक्ति ह्रास हुनबाट जोगाउने कम्पनीका कार्यक्रम संयोजक राजेश भगतले बताए । झाडापखालाको प्रकोप स्थिति उच्च देखिएपछि आइतबारदेखि जनकपुरमा पुनर्जलीय झोल र जिंक चक्की सहितको नवजीवन प्लस प्रोडक्टको सुरुवात गरिएको छ ।

नवजीवन प्लस प्रोडक्टको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका सभापति रामदेव वनरैत यादवले झाडापखालाका बिरामीलाई अनिवार्य रुपमा जिंक चक्कीको प्रयोग गर्न र गराउन आग्रह गरे । वर्षौंदेखि सीआरएस कम्पनीले उपलब्ध गराएको स्वास्थ्य सेवाहरु भरपर्दो हुने उनको भनाइ थियो ।

जनकपुर उपमहानगर पालिकाका मेयर लालकिशोर साहले जनकपुरमा लागूऔषध प्रयोगकर्ताहरुको संख्या बढिरहेकाले लागूऔषधको रुपमा प्रयोग हुने औषधिहरु जथाभावी विक्रीवितरण नगर्न औषधि व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भरतमणि सुवेदीले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि संघीय सरकार तथा विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गर्दै प्रदेश सरकारले कामको थालनी गरेको बताए ।

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु