गृहपृष्ठ नेपाली सेनाद्वारा स्वास्थ्य शिविर
नेपाली सेनाद्वारा स्वास्थ्य शिविर
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीको उपचार गरिएको छ ।
युनिक कलेज अफ मेडिसिन साइन्स एन्ड हस्पिटल प्रालि तथा नेपाली सेनाको राजविराजस्थित भीमदल गणको संयुक्त आयोजनामा आयोजित स्वास्थ्य शिविरमा ६ सय भन्दा बढीले उपचार सेवा प्राप्त गरेको गणका कार्यअधिकृत अमरबहादुर थापाले जानकारी दिए ।
युनिक अस्पताल र सेनाले बस्तीमै गएर निःशुल्क जाँच र औषधि वितरण गरेपछि ठूलो राहत मिलेको जाँचका लागि आएका स्थानीयवासी बिरामीको भनाइ छ । जिल्लाको अतिविकट मानिएको तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरामा गरिबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेका जनतालाई लक्षित गरी उक्त शिविर आयोजना गरिएको भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले बताए ।
यस्ता शिविर सेनाले विगतमा पनि विभिन्न विकट र विपन्न बस्तीमा लक्षित गरी चलाउँदै आएको जानकारी दिँदै यसलाई निरन्तरता दिने काम गरिएको उनले बताए । शिविरमा उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो ।
यस्तै शिविरमा फेला परेका जटिल प्रकृतिका रोगीलाई सिफारिस गरी अस्पताल पुर्याउने र त्यहाँ निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको युनिक कलेज अफ मेडिसिन साइन्स एन्ड हस्पिटल प्रालिका प्रमुख जयप्रकाश ठाकुरले बताए । शिविरमा अस्पतालका निर्देशक डा. सञ्जय सिंहको नेतृत्वमा डा. रवीन्द्र चौधरी, डा. संजित साह, डा. प्रमोद साह, डा अमरेन्द्र यादव तथा भीमदल गणका १० स्वास्थ्यकर्मीसहित २५ सदस्यीय चिकित्सकको टोलीले शिविरमा जाँच गरेको थियो । (रासस)
प्रकाशित समय ११:२२ बजे
















