गृहपृष्ठ प्याज र कुखुराको मूल्य एउटै, ९८ प्रतिशत प्याज विदेशी

प्याज र कुखुराको मूल्य एउटै, ९८ प्रतिशत प्याज विदेशी

pyaj-kukhuro

उत्पादन बढाउन नसक्दा एक किलो प्याज र एक किलो कुखुराको मासुको मूल्य एउटै भएको छ । भारतनिर्भर नेपाली बजारमा प्याज अभाव भएपछि मूल्य अकासिएको हो ।

अहिले बजारमा एक किलो ब्वाइलर कुखुराको मासु २५० मा पाइन्छ भने एक किलो प्याजको खुद्रा मूल्य पनि २५० नै छ । कालिमाटी फलफूल तथा तरकारी बजार समितिको मूल्य सूचीअनुसार भने प्रतिकिलो प्याजको बिहीबारको खुद्रा मूल्य २२५ रुपैयाँ छ । खुद्रा व्यापारीले भने मनपरी लिने गरेका छन् ।

समितिको तथ्यांकअनुसार सोमबार १९५ रुपैयाँ खुद्रा मूल्य रहेको प्याज मंगलबार नै २२५ रुपैयाँ पुगेको छ । बिहीबार पनि समितिले सोही मूल्यसूची सार्वजनिक गरेको छ ।

तरकारी मसलाको रुपमा प्रयोग गरिने प्याज एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । कालीमाटी तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ गत वर्ष मंसिरमा प्याजको मूल्य प्रतिकिलो ३१ रुपैयाँ (थोक) रहेकोमा अहिले २ सय रुपैयाँ पुगेको छ ।

भारतबाट वैधानिक रूपमा आउन छोडेसँगै प्याजको भाउ अकासिएको हो । भारतमा ठूलो मात्रामा प्याज खपत हुन्छ । असोज १२ गतेदेखि वैधानिक रुपमा नेपालमा सुकेको प्याज भित्रिएको छैन । भारतको केन्द्र सरकारले असोज १२ गते प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याज भित्रिन छाडेको हो । प्याजको माग अत्यधिक बढेपछि भारत सरकाले निर्यातमा प्रतिबन्ध लगाएको हो ।

नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारत र चीनबाट आउने गरेको छ ।

भदौ अन्तिम सातादेखि भारतमै प्याजको मूल्य बढ्न थालेपछि नेपालमा त्यसको असर देखिन थाल्यो । भदौको पहिलो सातामै प्याज एक्कासि ४० देखि ४५ रुपैयाँ प्रतिकिलोबाट बढेर सय रुपैयाँ नाघिसकेको थियो ।

प्याजका लागि भारतकै भर पर्नुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको बानेश्वरका तरकारी व्यापारी विनोद थापा बताउँछन् । उनी भन्छन्, ‘तरकारीमा भारतले रोक लगाएपछि ठूला व्यापारीले अर्कै ठाउँबाट ल्याउँदा झन् प्याज झन् महँगो भएको हो ।’

समितिका अनुसार अघिल्लो वर्ष यो समयमा कालीमाटीमा मात्रै भारतबाट दैनिक ९५ देखि एक सय टन प्याज आयात हुने गरेको थियो ।

दुई प्रतिशतमात्र उत्पादन
नेपालमा कुल खपतको दुई प्रतिशतमात्र प्याज उत्पादन हुने गरेको छ । समितिका उपनिर्देशक श्रेष्ठ नेपालमा खपत हुनेमध्ये दुई प्रतिशत मात्रै प्याज आन्तरिक उत्पादन हुने बताउँछन् । ‘बाँकी ९८ प्रतिशत भारतबाटै आयात हुन्छ,’ उनले भने ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा पाँच अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज आयात भएको थियो । काठमाडौं उपत्यकामा मात्रै दैनिक २७० टन खपत हुन्छ ।

भारतबाट मात्र होइन नेपालमा चीनबाट पनि भदौ १ यता ०.८९ प्रतिशत प्याज आयात भएको छ भने नेपालको आन्तरिक उत्पादनको हिस्सा ०.०६ प्रतिशत मात्रै छ । नेपालमा भारतबाहेक चीनको तातोपानी र केरुङ नाकाबाट प्याज आउँछ ।

प्रकाशित समय ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु