गृहपृष्ठ मकालुको काखमा ‘आमा भुजुङ’ (फोटो फिचर)
मकालुको काखमा ‘आमा भुजुङ’ (फोटो फिचर)
हिमाली दृश्यहरु आफैँमा सुन्दर हुन्छन् । चाँदीझैँ टल्कने हिमश्रृङ्खलाहरु हेरेर आँखा थाक्दैन, मन अघाउँदैन । हिमालमात्र हैन, त्यहाँका परिवेशहरु पनि ‘स्वर्ग’भन्दा कम लाग्दैनन् । संखुवासभा जिल्लामा अवस्थित मकालु हिमाल (८ हजार ४ सय ६३ मिटर) विश्वको पाँचौँ अग्लो हिमाल हो । मकालु बेसक्याम्प सम्मको पदयात्रा झरना, खोला, पोखरी र कुण्डहरु, वन, लेकाली खर्क लगायतका हिमाली सेरोफेरो र जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न चाहनेहरुका लागि उपयुक्त गन्तव्य हो ।
‘गर्भवती महिला’जस्तो देखिने चट्टाने पहाड आमा भुजुङ मकालुको काखैमा छ । यसका अतिरिक्त पार्वती गुफा, नेपोल ताल, सानोपोखरी, कालोपोखरी, चौँरी र भेँडीगोठहरु पदयात्राका आकर्षण हुन् । बाटैभरि सुनपाती, भैरुमपाती, धुपीजस्ता जंगली जडिबुटी र सुगन्धित फूलहरु भेटिन्छन् ।
खाँदबारीबाट बरुण दोभान, स्याक्सिला हुँदै मानव बस्तीरहित क्षेत्रहरु हिन्जु, धुम्जाङ्गे, च्याम्लिमा, रमितेडाँडा, धापखोला, जाँतेओडार हुँदै याङलेखर्क भएर मकालु बेसक्याम्प पुग्न सकिन्छ । खाँदबारी हुँदै नुमदेखि सेधुवा-याङलेखर्कको मार्ग बेसक्याम्प पुग्ने अर्को रुट हो । माथिल्लो क्षेत्रमा बस्ती र होटलहरु नपाइने हुँदा गोठ र ओडारमा बास बस्नुपर्ने हुन्छ । जुन पदयात्रीहरुका लागि जीवनकै अद्वितीय र अपूर्व अनुभूति पनि हो ।
प्रकाशित समय १७:४१ बजे





























