गृहपृष्ठ प्राथमिकताप्राप्त कृषि वस्तुको निर्यात व्यापार नै निराशाजनक

प्राथमिकताप्राप्त कृषि वस्तुको निर्यात व्यापार नै निराशाजनक

ginger cardamom and tea

नेपालले सन् २०१० मा बनाएको र तीन वर्षअघि सन् २०१६ मा परिमार्जन गरेको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)ले अदुवा, अलैंची र चियासहितका कृषिवस्तुलाई निर्यातमा प्राथमिकता तोके पनि तिनको निर्यात आशालाग्दो छैन ।

सबैभन्दा बढी लाभ लिन सकिने यी कृषि वस्तुमा नेपाली निकै अगाडि छ तर लाभ लिने विषयमा भने खासै प्रभाव जमाउन सकेको छैन । मसला र औषधिको रुपमा प्रयोग गरिने अदुवा र अलैंचीको निर्यातमा भारतीय व्यापारीको मूल्य पर्खिनुपर्दा नेपालले बढी लाभ लिन नसकेको हो ।

एनटीआईएसबाहेक गत वर्ष तयार पारिएको ‘व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय योजना-२०७५’ मा पनि यी वस्तुको निर्यात बढाउने उल्लेख गरिएको थियो ।

निकासी तथा व्यापार प्रवर्धन केन्द्रको तथ्यांकअनुसार चालू आवको पहिलो चार महिनामा १६ करोड ६६ लाख ९५ हजारको अदुवा निर्यात भएको छ । यो गत आवको सोही अवधिको भन्दा १३.५ प्रतिशत कम हो । गत आवको सोही अवधिमा १९ करोड २७ लाख ६३ हजारको अदुवा निर्यात भएको थियो ।

गत वर्षभरमा ५१ करोड २२ लाख ९६ हजारको अदुवा निर्यात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । आव २०७४/७५ मा ७७ करोड २४ लाख ६५ हजार र आव २०७३/७४ मा २४ करोड ३३ लाख ८८ हजारको अदुवा निर्यात भएको छ ।

पहिलो चौमासिकमा अलैंची निर्यातमा भने राम्रै प्रगति भएको छ । यो अवधिमा १ अर्ब ५४ करोड ६ लाख ५२ हजारको अलैंची निर्यात भएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा ५९.३ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा ९६ करोड ७३ लाख ९७ हजार रुपैयाँको अलैंची निर्यात भएको थियो ।

गत वर्षभरमा ४ अर्ब २८ करोड ४१ लाख ९९ हजारको निर्यात अलैंची निर्यात भएको तथ्यांक छ । आव २०७४/७५ मा ४ अर्ब ८४ करोड ९१ लाख ५५ हजार र आव २०७३/७४ मा ३ अर्ब ८७ करोड ५७ लाख ५० हजारको अलैंची निर्यात भएको केन्द्रले जनाएको छ ।

त्यस्तै चालू आवको पहिलो चार महिनामा चिया निकासीको स्थिति भने दयनीय छ । चार महिनामा १ अर्ब १६ करोड ८८ लाख ९६ हजारको चिया निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २४.७ प्रतिशत कम हो । गत आवको सो अवधिमा १ अर्ब ५५ करोड ३० लाख २७ हजारको चिया निर्यात भएको थियो ।

खासगरी, अहिले भारतको दार्जिलिङ चियाका नाममा नेपाली चिया निकासी हुँदै आएकोमा त्यहाँको चियालाई पुनः ब्रान्डिङ गर्ने क्रममा नेपाली चियाको आयातमा केही कडाइ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसको असरले चिया निर्यात केही घटेको छ ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गत वर्षभरमा ३ अर्ब २० करोड ३० लाख ८ हजारको चिया निर्यात भएको छ । आव २०७४/७५ मा ३ अर्ब २५ करोड १६ लाख ८६ हजार र आव २०७३/७४ मा २ अर्ब ५० करोड २७ लाख ६५ हजार रुपैयाँको अदुवा निर्यात भएको थियो ।

सरकारको व्यापार घाटा घटाउने रणनीतिमा अचैंची र अदुवा सिधै गन्तव्य बजार वा मुलुकमा मूल्य अभिवृद्धिसहित निर्यातकर्तालाई स्टार्टअप/च्यालेन्ज फन्ड उपलब्ध गराउने भनिए पनि अहिलेसम्म यस्तो स्टार्टअप/च्यालेन्ज फन्ड नै स्थापना गरिएको छैन ।

यस्तै, अदुवा, अलैंची, चिया, जडिबुटीजस्ता प्रचुर उत्पादन सम्भावना भएका वस्तु तयारी रुपमा प्रशोधन र ब्रान्डिङ गरी निकासी गर्न त्यस्ता वस्तु बढी उत्पादन हुने क्षेत्रमा प्रशोधन उद्योगहरू खोल्न प्रोत्साहन गर्ने नीति लिइने सरकारको कार्ययोजना उल्लेख छ ।

एनटीआईएस- २०१६ ले प्राथमिकता दिएका चिया, अलैंची, अदुवा र जडिबुटीलगायत उच्च मूल्यवान कृषिजन्य वस्तुहरूको उत्पादन दुई वर्षभित्रमा ५० प्रतिशतले बढाउने लक्ष्य सरकारको छ । लक्ष्यअनुसार उत्पादन बढाउन नसक्दा यसको असर निर्यातमा परेको छ ।

प्रकाशित समय १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु