गृहपृष्ठ राजस्व संकलनको पहिलो चौमासिक तथ्यांक निराशाजनक

राजस्व संकलनको पहिलो चौमासिक तथ्यांक निराशाजनक

चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको राजस्व संकलनको लक्ष्य पुरा हुनेमा चुनौती देखिएको छ । पहिलो चौमासिकमा २५७ अर्ब राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकमा भन्दा ९ अर्ब बढी राजस्व संकलन भएको छ । तर यस आवका लागि निर्धारण गरिएको लक्ष्य प्राप्त गर्नका लागि भने यो अपर्याप्त हो । पहिलो चौमासिकमा लक्ष्यभन्दा ३१ प्रतिशत कम राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षभित्र ११ खर्ब १२ अर्ब राजस्व संकलन गर्ने सरकोरको लक्ष्य रहेको छ । यही अनुपातमा मात्र राजस्व संकलन हुने हो भने लक्ष्य पुरा गर्न चुनौती देखिएको छ । लक्ष्य पुरा गर्न पहिलो चौमासिकभित्र ३७१ अर्ब राजस्व संकलन भइसक्नुपथ्र्यो । अर्थ मन्त्रालयको वेभसाइटमा उल्लेख गरिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकभित्र कुनै पनि शीर्षकमा लक्ष्य पुरा गर्ने अनुपातमा राजस्व संकलन भएको छैन ।

पहिलो चौमासिकमा संकलित २५६.७७ अर्बको अनुपातमा संकलन हुने हो भने यो आवभित्र ७७० अर्ब मात्र राजस्व उठ्ने देखिन्छ । यो भनेको लक्ष्यभन्दा करिब ३४१ अर्ब कम हो ।

गत वर्षको पहिलो चौमासिकको तथ्यांक हेर्दा सबै शीर्षकको कर वृद्धि भएको देखिन्छ । सरकारले भन्सार महसुलमा वर्षभरीमा २१३.२० अर्ब संकलन गर्ने लक्ष्य लिएको छ । जसमा पहिलो चौमासिकमा ५१.७७ अर्ब संकलन भएको छ । यो तथ्यांक हेर्दा गत वर्षको भन्दा कम हो । गत वर्षको पहिलो चौमासिकमा ५४.२० अर्ब भन्सार महसुल संकलन भएको थियो ।

त्यस्तै मूल्य अभिवृद्धि करमा भने गत वर्षको भन्दा करिब ५ अर्ब बढी संकलन भएको छ । गत वर्षको पहिलो चौमासिकमा ८०.४४ अर्ब संकलन भएको थियो भने चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ८४.५९ अर्ब राजस्व संकलन भएको छ । सरकारको यो वर्षको लक्ष्य भने मूल्य अभिवृद्धि करमा ३१५.०१ अर्बको रहेको छ ।

त्यस्तै आन्तरिक करमा पनि गत वर्षको भन्दा केही बढेको देखिन्छ । गत वर्षको यस अवधिमा २७.५४ अर्ब संकलन भएकोमा यो वर्ष ३५.६३ अर्ब संकलन भएको छ । लक्ष्यअनुसार पुग्न भने ८२.७५ अर्ब बाँकी छ । आन्तरिक करमा यो वर्षको सरकारको लक्ष्य ११८.३८ अर्बको छ ।

त्यस्तै पैठारीअन्तर्गत भने गत वर्षको भन्दा यो वर्षको पहिलो चौमासिकमा कम राजस्व संकलन भएको छ । गत वर्षको पहिलो चौमासिकमा ५२.९ अर्ब संकलन भएको थियो भने यो वर्ष ४८.९६ अर्ब मात्र संकलन भएको छ । राजस्व संकलनको अनुपात यही रहे लक्ष्य भेटाउन चुनौती देखिन्छ । यो वर्षको पैठारी करमा राज्यले १९६.६३ अर्बको लक्ष्य लिएको छ ।

त्यस्तै यो वर्षको अन्तशुल्कमा १६९.९८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राज्यले लिएको छ तर पहिलो चौमासिकमै ४३.०७ अर्ब मात्रै संकलन भएको छ । यो पनि गत वर्षको भन्दा कम हो । गत वर्षको पहिलो चौमासिकमा ४३.८४ अर्ब अन्तशुल्कवापत राजस्व संकलन भएको थियो ।

आयकरमा यो वर्ष सरकारले २८०.३५ अर्ब संकलन गर्ने लक्ष्य लिएको छ । पहिलो चौमासिकमा ४५.०६ अर्ब मात्र संकलन भएको देखिन्छ । लक्ष्यअनुसार पुग्न २३५.२९ अर्ब बाँकी छ । यो तथ्यांक भेटाउन पनि निकै चुनौती देखिएको छ । गत वर्षको भन्दा आयकर बढे पनि तर लक्ष्यभन्दा निकै कम मात्र पहिलो चौमासिकमा संकलन भएको छ । गत वर्ष यही अवधिमा ३५.९० अर्ब संकलन भएको थियो ।

अर्थ मन्त्रालयको यो तथ्यांकअनुसार अन्य विभिन्न शीर्षकबाट यो वर्ष सरकारले ३०.६२ अर्ब संकलन जम्मा गर्ने लक्ष्य लिएको छ । विविध शीर्षकमा पहिलो चौमासिकभित्र ७.७५ अर्ब संकलन भएको छ । यही शीर्षकमा गत वर्ष ९.३० अर्ब संकलन भएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा जम्मा कर राजस्वमा १० खर्ब ९ अर्ब र गैरकरमा १०२.८७ अर्ब गरी कुल ११ खर्ब १२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जम्मा करबाट २३२.२४ अर्ब र गैरकरबाट २४.५३ अर्ब गरी २५६.७७ अर्ब मात्र संकलन भएको छ । यही शीर्षकमा गत वर्षको पहिलो चौमासिकमा जम्मा करबाट २२३.६८ र गैरकरबाट २४.२६ अर्ब गरी २४७.९४ अर्ब संकलन भएको थियो ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु