गृहपृष्ठ इलामका होमस्टेमा पर्यटकको घुँइचो

इलामका होमस्टेमा पर्यटकको घुँइचो

पछिल्लो समय इलाममा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ ।

गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, स्वदेशी पर्यटकहरुको पनि आकर्षण बढेको हो ।

फुर्सद समय वा चाडँबाडँको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा कि त लामो दुरीको ट्रेकिङ कि त होमस्टे रोजाइमा पर्ने गर्दछ ।

फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा मिल्ने गर्छ । पछिल्लो समय इलामका होमस्टेमा तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ ।

इलामको माइपोखरी, फिक्कललगायतका होमस्टेमा पालैपालो २० भन्दा बढी देशका पर्यटकहरु महिनौंसम्म बस्ने गरेको स्थानीय हामस्टे सञ्चालकहरु बताउँछन् । तीन वर्ष अगाडिसम्म खासै पर्यटकहरुको आर्कषणमा पर्न नसकेका होमस्टेहरु विस्तारै पर्यटकहरुको रोजाईमा पर्न थालेको पाइन्छ ।

यहाँको राम्रो वातावरण र रहनसहनले आकर्षित बनाएको उनीहरुको भनाई छ । धेरै विदेशी हिमालको पदयात्रामा जाने भए पनि केहीले इलामलाई गन्तव्य बनाउन थालेका छन् । पर्यटकलाई खान र बस्न सहज हुने भएकाले पनि घुम्न आउने गरेको अन्तु पर्यटक विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए ।

महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ । होमस्टेमा बस्र्ने पर्यटकले एकै परिवारमा जस्तै गरी बस्ने गर्दछन् । उनीहरु धेरै होमस्टेमा गाइको थलो भकारो गर्ने, घाँस काट्ने, घरको काम सघाउने, खाना पकाउने, दूध डेरीमा पुर्याउने समेत गर्दछन् ।

धेरै जसो पर्यटकहरु हप्ता दिनदेखि महिना दिनसम्मको समय होमस्टेमा बस्ने र घुम्ने गर्दछन् । होमस्टेबाट कला, संस्कृति, भेषभूषा, खानपानमा रमाउन पाउँदा खुसी हुँदै उनीहरुले इलामको बसाई लोभलाग्दो बताउने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

होमस्टेमा बस्ने विदेशीले अनलाइनमार्फत् सिधै समय मिलाउने गरेका छन् । पर्यटकका लागि सुविधा मात्र नभएर यहाँको पहिचान झल्कने गाउँघर, रहनसहन, र हरियालीले पनि आकर्षित बनाएको देख्न सकिन्छ ।

फ्रान्स, जर्मनी, जापान, इटाली, नेदरल्याण्ड र कोरियाका नागरिकले समेत इलामका लोभलाग्दा होमस्टेको स्वाद लिएको अन्तु पर्यटक विकास समितिका आलेले जानकारी दिए ।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु