गृहपृष्ठ दक्षिण कोरियामा रोजगारी कोटा बढाउन आग्रह

दक्षिण कोरियामा रोजगारी कोटा बढाउन आग्रह

नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा बढाउन नेपालले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटका क्रममा मन्त्री यादवले रोजगारीको कोटा बढाउन आग्रह गरेका हुन् ।

भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथ सीप परीक्षा पास गरेका युवा प्रतीक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए । उनले कोरियामा रहेका नेपाली श्रमिकलाई त्यहाँको पेन्सन प्रणालीमा समेट्न पनि आग्रह गरेका छन् । भेटमा मन्त्री यादवले इपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए । तालिम प्रदायक संस्थाको क्षमता विस्तारमा कोरिया सरकारसँग सहयोगका लागि पनि उनले आग्रह गरे ।

राजदूत योङसिकले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकले गरेको कामको प्रशंसा गर्दै भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित बनाउन पूर्वाधार निर्माण गर्ने बताए । कोरियामा रहेका नेपाली कामदारको आत्महत्यासम्बन्धी विषयलाई सरकारले गम्भीरताका साथ लिएको उल्लेख गर्दै उनले आत्महत्या न्यूनीकरणका लागि आवश्यक प्रबन्ध गर्ने जानकारी गराए । उनले नेपाली श्रमिकका परिवारसँगको सम्पर्कलाई थप सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । (रासस)

प्रकाशित समय २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु