गृहपृष्ठ प्रदेश २ सरकारलाई स्वास्थ्य नीति मस्यौदा हस्तान्तरण
प्रदेश २ सरकारलाई स्वास्थ्य नीति मस्यौदा हस्तान्तरण
प्रदेश २ को स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले मस्यौदा हस्तान्तरण गरेको छ । कार्यदलका संयोजक डा. राम केवल साहले सामाजिक विकासमन्त्री नवल किशोर साहलाई मंगलबार मस्यौदा हस्तान्तरण गरेका हुन् ।
मन्त्री साहले सो मस्यौदा मुख्यमन्त्री लालबाबु राउतलाई सोही कार्यक्रममा हस्तान्तरण गरे । मस्यौदामा प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, सुधारका लागि गर्नुपर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुनःसंरचना लगायतको विषयहरु समेटिएका छन् ।
मुख्यमन्त्री राउतले कार्यदलले तयार गरेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्ग दर्शक हुने विश्वास व्यक्त गरे । सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोचे अनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेको उल्लेख गरे ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले स्वास्थ्य नीतिको मस्यौदाजस्तै अन्य क्षेत्रको पनि नीति बनाउन आवश्यक रहेको बताए । उनले अगामी दिनमा सरकारले यस मस्यौदालाई प्रारम्भिक आधार बनाएर आफ्नो नीति तथा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे ।
प्रकाशित समय १८:२७ बजे
















