गृहपृष्ठ नाट्टा गण्डकी प्रदेशको साधारण सभा सम्पन्न

नाट्टा गण्डकी प्रदेशको साधारण सभा सम्पन्न

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार पोखरा स्थित टिका रिसोर्टमा आयोजित सो साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले सरकारले हवाई ईन्धनको मूल्य घटाए पनि वायुसेवा कम्पनीहरुले भने हवाई भाडा नघटाएको गुनासो गरे ।

उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार भएको भएपनि त्यो सर्वसाधारण र ग्राहकहरुलाई फाईदा हुने गरि जानुपर्ने बताए । ‘सरकारले एयर फ्यूल चार्ज घटायो तर त्यो घटेको मूल्यअनुसार वायुसेवा कम्पनीहरुले भने टिकट दर घटाएनन्, त्यो कस्टमरसम्म पुगेन्,’ सचिव अधिकारीले भने ।

उनले आगामी दिनमा अझ हवाई ईन्धनको मूल्य घटाउन प्रयास गर्ने भन्दै पूर्वाधारमा समेत जोड दिईरहेको बताए । उनले पछिल्लो दिनमा कोरोनाभाईरसका कारण पर्यटन क्षेत्र समस्यामा परेको भन्दै त्यसमा सरकारले ध्यान दिइरहेको बताए ।

‘हामीजस्तो सानो मुलुकले हवाई उडान नै रोक्नु हुँदैन्, त्यसले अर्थतन्त्रमा नै असर पर्नेछ, तर सरकारले त्यसलाई नजिकबाट निगरानी गरिरहेकोछ, उनले भने ।

पर्यटन सचिव अधिकारीले स्थानीय हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गरिनुपर्ने भन्दै सातै प्रदेशलाई एक आपसमा जोड्न काम अगाडि बढाईरहेको जानकारी दिए । अहिलेका पर्यटकीय क्षेत्रहरुमा भन्दा बाहिर थप स्थानहरुमा पर्यटकीय विकास गर्ने सरकारको योजना रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई पर्यटकीय नगरीको रुपमा थप विकास गर्न पर्यटन व्यवसायीहरुसँग मिलेर काम गर्ने बताए । उनले पोखरामा पर्यटक बसपार्क बनाईरहेको र त्यो केहि समयमै तयार हुने अवस्थामा रहेको जानकारी दिए ।

‘ट्राभलर टूर बसको स्तरीकरण गरिनुपर्दछ, अहिले हेर्दा नगरबसमा पनि पर्यटक बस भनेर लेख्ने जस्तो अबस्था आएकोछ,’ पोखरा महानगरपालिकाका मेयर जिसीले भने,
‘मेयर जिसीले पोखरामा नयाँ पर्यटन पूर्वाधार विकास गर्ने प्रयास गरिरहेको भन्दै त्यसको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेका थिए ।’

नाट्टा गण्डकी प्रदेशको वार्षिक साधारण सभामा बोल्दै नाट्टा केन्द्रका अध्यक्ष अच्युत शर्मा गुरागाईँले पर्यटन पूर्वाधार विकास गर्न र पर्यटकीय क्षेत्रमा सुविधा पुर्याउन सरकारसँग आग्रह गरे ।

‘पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने अत्यन्त आवश्यक रहेको छ, हामी आगामी वर्ष बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट गर्ने तयारीमा छौं तर अझै बाटोको अवस्था नाजुक छ,’ उनले भने ।

त्यसैगरी अध्यक्ष गुरागाईँले माइस टूरिजमको विकास गर्न र अन्तर्राष्ट्रिय स्तरको सेमिनारहरु गर्न सेमिनार हलको अभाव रहेको भन्दै सरकारले जग्गा दिन निजी क्षेत्र बनाउन तयार रहेको स्पष्ट पारे । उनले कनेक्टिभिटी बढाउनुपर्ने भन्दै सरकारले पर्यटकीय क्षेत्रहरुमा कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिए ।

२५ औं साधारण सभामा बोल्दै नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले पर्यटकीय नगरीको रुपमा पोखरा चर्चित भए पनि पछिल्लो दिनमा पर्यटकीय गन्तव्य नथपिएकोमा चिन्ता व्यक्त गरे ।

उनले पर्यटकहरुलाई थप आकर्षित गर्न नयाँ प्रडक्ट विकास गर्नु आवश्यक भएको भन्दै प्रवर्द्धनले मात्र पोखरामा पर्यटक नआउने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद, पोखरा उद्योग वाणिज्य संघका अध्यक्षलगायतले साधारण सभाको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका उत्कृष्ट २ टूर एण्ड ट्राभल अपरेटर तथा २ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । नाट्टा गण्डकी प्रदेशको २५ औं वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु