गृहपृष्ठ खल्ती र भाटभटेनी ग्रुपबीच मनी ट्रान्सफर सेवासम्बन्धी सम्झौता
खल्ती र भाटभटेनी ग्रुपबीच मनी ट्रान्सफर सेवासम्बन्धी सम्झौता
खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुपबीच ‘खल्ती एप’बाटै मनी ट्रान्सफर सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
भाटभटेनी ग्रुपद्वारा प्रवर्द्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनालजंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केट तथा भाटभटेनीका देशैभरी रहेका २५०० भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत उक्त पैसा झिक्न सकिनेछ । यस सम्झौतासँगै खल्तीले एपमा रेमिट्यान्स नाम गरेको एउटा नयाँ आइकन ल्याएको छ । उक्त आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् ।
यसरी पैसा पठाई सकेपछि पाउनुपर्ने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएसमार्फत एउटा पिन प्राप्त गर्नेछन् । प्राप्तकर्ताले तोकिएको भाटभटेनी सुपरमार्केट अथवा रेमिट्यान्स एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् ।
यसका साथै अब खल्ती प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्टमार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
प्रकाशित समय १९:३६ बजे

















