गृहपृष्ठ ‘दोस्रो कर्णाली एक्स्पो २०७६’ सुरु
‘दोस्रो कर्णाली एक्स्पो २०७६’ सुरु
वीरेन्द्रनगरमा ‘दोस्रो कर्णाली एक्स्पो २०७६’ मंगलबारदेखि सुरु भएको छ । ‘समृद्ध कर्णालीको दिगो आर्थिक विकासको आधार ! अर्गानिक कृषि, पर्यटन, जलस्रोत र उद्योग हुन् पुर्वाधार !!’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कर्णाली थुप्रै सम्भावनाको प्रदेश भएको बताए । उनले कर्णालीमा रहेका सम्भावनाहरुलाई चिन्न सकेको खण्डमा देशकै धनी प्रदेश बन्न सक्ने बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले यो महोत्सव अरु महोत्सवभन्दा फरक उद्देश्यले आयोजना गरिएको बताए । उनले आर्थिक संकलन र नाफामुखी मात्र नभएर महोत्सवबाट भएको आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामूहिक हितको लागि स्थापना गरिएको अक्षय कोषमा जम्मा गरिने बताए । महोत्सवमा विभिन्न उद्योग तथा उद्यमी, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार तथा प्रवर्द्धन गरिने रावतले बताए ।

कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयको मुख्य आयोजना तथा सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन गरिएको महोत्सव १७ गतेसम्म चल्नेछ । महोत्सव स्थलभित्र पाँच सय व्यवसायिक स्टल रहेका छन् ।
महोत्सवको प्रवेशद्वारका रुपमा लण्डन ब्रिज बनाइएको छ । एक्स्पोमा ६ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवका लागि कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मेलामा आगलागी, हावाहुरी, भीडभाड लगायतका सम्भावित जोखिमलाई ध्यान दिँदै दर्शकको बिमासमेत गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रकाशित समय १२:३५ बजे

















