गृहपृष्ठ संवाद समितिको पहलमा लक्ष्मण थारुको अनसन स्थगित

संवाद समितिको पहलमा लक्ष्मण थारुको अनसन स्थगित

थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आमरण अनसन स्थगित गरेका छन् । जिल्लास्थित विभिन्न राजनीतिक दलहरूले माग पूरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनले अनसन तोडेका हुन् । उनी फागुन १ देखि धनगढीस्थित क्याम्पस चोकमा अनसन बसेका थिए ।

संवाद समूह धनगढीको विशेष पहलमा थारुले बिहीबार अनसन तोडेका हुन् । समूहका सदस्य कर्ण शाह र रमेश भट्टराइले गरेको संवादपछि उनले अनसन तोडेका हुन् । थारुलाई अनसन तोडाउन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस पिलाएका थिए ।

टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने उनको माग थियो । अन्य मागहरू राजनीतिक रूपले पूरा गर्न जिल्लामा क्रियाशील राजनीतिक दलहरू एकमत भएपछि अनसन तोडेको थरुहट थारुवान राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्णकुमार चौधरीले बताए ।

आन्दोलनका अन्य विकल्पहरू अघि सार्ने विषयमा पनि सहमति भएको उनले जानकारी दिए । ‘सरकारले हाम्रो माग सम्बोधन गर्न चासो दिएन । तर, यहाँका दलहरूले सरकारलाई पहल गर्ने बताएपछि अनसन तोडिएको हो,’ उनले भने, ‘अनसन तोडे पनि हाम्रो आन्दोलन भने रोकिने छैन ।’

अनसन तोडेलगत्तै थारुले माग सम्बोधनका लागि आन्दोलन जारी रहने बताए । उनले भने, ‘१४ बुँदे माग दिएर म अनसनमा बसेको थिएँ । सरकारले माग सम्बोधनमा चासो नदिए पनि यहाँ राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् । भोलिबाट आन्दोलनको स्वरूप अर्कै रहन सक्छ ।’

मोर्चाको आन्दोलन तथा अनसनप्रति आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ, संगठनले ऐक्यबद्धता जनाएका थिए ।

अस्वस्थ बन्दै गरेका थारुको माग पूरा गराउन र अनसन तोडाउन संवाद समितिले पहल गरेको थियो ।

प्रकाशित समय १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु