गृहपृष्ठ तीन महिनामा ४७ प्रतिशत बढ्यो सेयर बजार, कारोबार रकम पनि उच्च

तीन महिनामा ४७ प्रतिशत बढ्यो सेयर बजार, कारोबार रकम पनि उच्च

‘नेपालको सेयर बजारमा धेरै सुधार भएको छ । सेयर बजारमा भएको सुधारका कामको परिणाम स्वरुप अब दैनिक ५ अर्बको कारोबार पनि हुनसक्छ ।’ २०७५ साल कात्तिक २० गते अनलाइन कारोबार प्रणालीको उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्कीले गरेको उद्घोष हो यो ।

कार्यक्रममा उपस्थित अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलगायत नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटहरूले पनि नेपालको सेयर बजार नयाँ युगमा प्रवेश गरेको भन्दै सगर्व भाषण गरे । राजधानीको होटल याक एन्ड यतिको खचाखच भरिएको हलमा नियामकदेखि लगानीकर्तासमेत उत्साहित बने पनि करिब १४ महिनासम्म सेयर बजार ‘कोमा’मै रह्यो ।

पूर्ण अनलाइन कारोबार अझै भइसकेको छैन । तर, लगानीकर्तामा आत्मविश्वास भने निकै बढेको छ । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष कार्कीले आइतबार बिहान फेसबुकमा लेखे‑ २०७२ माघमा धितोपत्र बोर्डको निर्देशनमा ‘टि प्लस थ्री’ को कारोबार सुरु गरेपछि २ अर्ब ७५ करोडको सेयर कारोबार भएको थियो । त्यसपछि बोर्डले लगानीकर्ताको हितमा धेरै सुधार गर्‍यो । मैले अब उपयुक्त नीति र वातावरणमा सुधारको कारण यो कारोबार दैनिक ५ अर्ब रुपैयाँ पनि हुनसक्छ भनेको थिएँ । त्यसबेला केही हाँसेका थिए । तर, अहिले दैनिक करिब रू. ५ अर्बको कारोबार हुन थालेको छ । खुसी र गौरवको विषय हो ।

साउन १ गतेदेखि परीक्षणका रुपमा सुरु गरिएको अनलाइन सेयर खरिद‑बिक्री प्रणाली ११० दिनको परीक्षणपछि बल्ल लगानीकर्ताले आफैं कारोबार गर्न सक्ने गरी कार्यान्वयनमा आएको थियो । यद्यपि, अझै पनि लगानीकर्ताका लागि सहज भइसकेको छैन । अनलाइन कारोबार नेपालको पुँजीबजारको विकास र विस्तारमा कोसेढुंगा सावित हुने अपेक्षा सबै सम्बन्धित निकायले गरिरहँदा पुस २० गतेपछि लगातार बजार उकालो लागिरहेको छ ।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष कार्की बोर्डले चालेका नीतिगत सुधारका कदम र अनलाइन कारोबार प्रणालीको सहजतासँगै नेपालको सेयर बजारले अनपेक्षित गति लिएको बताउँछन् । ‘बोर्डले लगानीकर्ताको हितमा गरेको धेरै सुधारका कामको नतिजा हो यो,’ उनले भने ।

केही दिनयता दैनिक चार अर्बभन्दा धेरैको कारोबार भइरहेको छ । नोबेल कोरोना भाइरसको प्रभावका कारण चीनसँग व्यापार हुन नसक्दा सेयर बजारमा पैसा गएको अनुमान पनि भइरहेको छ । केही तथ्यांकले यसलाई पुष्टि पनि गर्छन् । त्यस्तै ब्याजदर सामान्य अंकले भए पनि घटेको छ । तरलता अभावको समस्या पनि विगतमा जस्तो छैन । यी विविध कारण सेयर बजारमा पैसा आउने माध्यम बनेका छन् ।

यिनै कारणले सेयर बजारमा लगानीकर्ताको आत्मविश्वास बढाएको छ । नयाँ लगानीकर्ता भित्रिएका छन् । नेप्सेको फ्लोर सिटले ठूला र संस्थागत लगानीकर्ता बजारमा भित्रिएको देखाउँदैन । लगानीकर्ताले विभिन्न उपसमूहका सस्ता मूल्यका सेयर उठाएको पाइन्छ । करिब तीन महिनामा सेयर बजार ४७ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । मंसिर १० गते ११०९ अंकमा रहेको नेप्से फागुन १५ गते १६३२ अंकमा पुगेको हो ।

सेयर विश्लेषक रविन्द्र भट्टराई नेप्सेको लगातारको वृद्धिले लगानीकर्तामा आत्मविश्वास बढेको बताउँछन् । ‘ब्याजदर घट्दै गएका बेला सस्तो भएको सेयरमा लगानीकर्ताले लगानी बढाएका छन्,’ उनी भन्छन्, ‘अर्को कारण नेप्सेको इतिहास हेर्दा बियरिस ट्रेन्ड करिब अढाइ‑तीन वर्ष रहेको देखिन्छ, यो औसत समय सकिएकाले पनि अब सेयर बजार बुलिस दिशातर्फ गयो भन्न सकिन्छ ।’

प्रकाशित समय १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु