गृहपृष्ठ उपलब्ध जनशक्तिलाई नै व्यवस्थित ढंगले परिचालन गर्ने योजना बनाएका छौं : मन्त्री दल रावल
उपलब्ध जनशक्तिलाई नै व्यवस्थित ढंगले परिचालन गर्ने योजना बनाएका छौं : मन्त्री दल रावल
कर्णाली प्रदेशमा हालसम्म कुनै पनि व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन । कर्णालीमा यसै पनि स्वास्थ्य क्षेत्रका जनशक्ति कम छन् । रोग र भोकले कर्णाली प्रदेश यसअघि पनि अछुतो छैन । रोजगारीका लागि भारत र तेस्रो मुलुक जानेको संख्या बढी भएका कारण कर्णालीमा कोरोना संक्रमणको जोखिम पनि उच्च छ । यस्तो अवस्थामा महामारीबाट बच्न भइरहेको तयारीका बारेमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलसँग न्युज कारोबारका कर्णाली प्रदेश संयोजक सीता वलीले गरेको कुराकानी :
कर्णालीमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन । यही अवस्था कायम राख्न प्रदेश सरकारको तर्फबाट के-कस्ता प्रयास भइरहेको छ ?
चेकजाँचलाई सबैभन्दा बढी प्राथमिकता दिएका छौं । त्यसको अलवा कर्णालीका सबै नाकाहरु बन्द गरिएका छन् । जिल्लाका नाकाहरुमा हेल्थडेस्क राखिएको छ । प्रदेश अस्पतालमा कोरोनाको परीक्षणसमेत सुरु गरिएको छ । कर्णालीका सबै दश वटै जिल्ला अस्पतालमा कोरोनाको शंका लागेका विरामीहरुको नमूना संकलन गर्ने र प्रदेश अस्पतालमा ल्याएर परीक्षण गराउने काम भएको छ ।
सबै स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यकबाहेक काजमा र विदामा नबस्न निर्देशन भएको छ । कर्णाली प्रदेश अस्पतालमा कोरोनाको परीक्षण गर्दै आए पनि थोरै क्षमताको भएका कारण केही समस्या भएको छ । केही नमूनाहरु काठमाडौं पठाएर पनि हामीले चेकजाँचलाई कडाई गरेका छौं ।
कर्णाली प्रदेश भौगोलिक रूपमा पनि विकट छ । नमूना संकलनमा सम्बन्धित जिल्ला अस्पतालहरुले समेत समन्वय गरेका छन् । तर स्थानीय तहसम्म पुगेर नमूना संकलन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले के पहल गरेको छ ?
आवश्यकता अनुसार अहिले पनि प्रदेश सरकारले कोरोना संक्रमणको शंका लागेका व्यक्ति भएकै स्थानमा गएर नमूना संकलन गर्ने व्यवस्था मिलाएको छ । प्रदेश सरकारको पहलमा मुगु र रुकुमपश्चिमबाट नमूना संकलन गरी परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
यसबाहेक हामीले तीनसय जनाको ‘मेडिकल मार्च टिम’ बनाउने योजना बनाएका छौं । उक्त टिमले प्रदेशका सबै स्थानीय तहका टोल-टोलमा गएर कोरोनासम्बन्धी सचेतना दिने र आवश्यक परेको खण्डमा उपचारसमेत गर्छ । जसले गर्दा नागरिकहरुको मनोबलसमेत उच्च रहन्छ ।
प्रदेशको उच्चस्तरीय विपद व्यवस्थापन समितिले बाहिरबाट आउने मालसामानहरु रोक्ने निर्णयसमेत गरेको छ । कर्णालीमा सामान्य अवस्थामा पनि भोकमरी लाग्छ । बाहिरबाट आउने मालसामान नै रोक्दा कर्णालीको मात्र उत्पादनले थेग्न सक्ला ?
यो बेलामा सबैभन्दा ठुलो कुरा जनताको स्वास्थ्य हो । हामीले अत्यावश्यक वस्तु बाहेकमा रोक लगाउने निर्णय गरेका हौं । अर्को कुरा ‘कर्णालीमा उत्पादन छैन’ भन्नु गलत हो । दुई-चार महिनाको लागि कुनै चिन्ता छैन । यदि संकट नै पर्यो भने प्रदेश सरकारले व्यवस्था गर्छ ।
कर्णालीमा भारत लगायतका मुलुकबाट लुकीछिपी मानिसहरु भित्रिने क्रम अझै जारी छ । लकडाउनको पूर्णपालना नभएको नागरिकको गुनासो छ । यो अवस्थामा कर्णाली प्रदेश कोरोनाको संक्रमणबाट बच्न सक्ला ?
प्रदेश सरकारले नाकाहरुमा कडाइ गरेको छ । सबै जिल्लामा सीडीओलाई पनि नाकामा कडाई गर्न भनेका छौं । सुरक्षा निकायलाई समेत यही निर्देशन दिइएको छ । जति पनि नागरिक बाहिरबाट भित्रिन्छन्, उनीहरुलाई क्वारेन्टाइनमा राखेर मात्र घर पठाएका छौं । पछिल्लो समय नागरिकहरु समेत सचेत छन् । गाउँमा कोही नयाँ मान्छे देखे वा बाहिरबाट आएको थाहा पाए प्रहरीको सहयोगमा उनीहरु आफैँले नै क्वारेन्टाइनमा राख्ने गरेका छन् ।
सामान्य अवस्थामा पनि कर्णालीमा स्वास्थ्य क्षेत्रका जनशक्ति अभाव हुन्छ । यदि कोरोनाले महामारीकै रुप लियो भने कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?
जनशक्ति अभावकै कारण नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउने छैन । भएको जनशक्तिलाई नै व्यवस्थित ढंगले परिचालन गर्ने योजना बनाएका छौं । दुर्गम जिल्लामा हेलिकप्टरको प्रयोग गरेर समेत उपचार गरिने छ । कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा भएका जनशक्ति प्रयोग गर्ने सोच बनाएका छौं । तत्काल करारमा जनशक्ति राख्न सम्भावना छैन ।
प्रकाशित समय १४:३५ बजे
















