गृहपृष्ठ रेमिट्यान्स सवा सात अर्ब डलरमात्रै : आईएमएफ
रेमिट्यान्स सवा सात अर्ब डलरमात्रै : आईएमएफ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण चालू आर्थिक वर्षमा नेपाल भित्रने रेमिट्यान्स सवा सात अर्ब अमेरिकी डलर (करिब सवा आठ खर्ब रुपैयाँ)मा खुम्चने जनाएको छ ।
विश्व स्वास्थ्य महामारीका कारण नेपालका प्रमुख सबै श्रम गन्तव्यमा अहिले प्रभाव पारेको छ । खासगरि खाडी मुलुक, मलेसियासहितका श्रम गन्तव्यमा असर पारेका कारण नेपाल भित्रने रेमिट्यान्स गत आर्थिक वर्षभन्दा करिब साढे ५ प्रतिशतले खुम्चने मुद्रा कोषको ठहर छ ।
मुद्रा कोषको आन्तरिक ‘स्टाफ पेपर’मा कोभिड १९ का कारण यस वर्ष नेपाल भित्रने रेमिट्यान्स ७ अर्ब ३५ करोडअमेरिकी डलर (८ खर्ब २९ अर्ब रूपैयाँबराबर) मात्रै भित्रने प्रक्षेपण गरिएको छ ।
गत आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब ७९ करोड अमेरिकी डलर (८ खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ) रेमिट्यान्स भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकका प्रारम्भिक अनुमानले भने यस वर्ष करिब १ खर्ब रूपैयाँले रेमिट्यान्स कम आउने देखाएको छ । मासिक औसत ५० अर्ब रुपैयाँका हाराहारीमा रेमिट्यान्स भित्रँदै आएकोमा चैतपछि कोरोना भाइरस महामारी फैलिएपछि रेमिट्यान्स आउने क्रम संकुचित भएको रेमिट्यान्स सेवा प्रदायकहरूले बताएका छन् ।
कोरोना भाइरस महामारीका कारण नेपालले विगत एक महिनादेखि घरबन्दी लागू गरेको छ, जसका कारण भिसा-टिकट लिइसकेका करिब ५० हजार नेपाली विदेश जान पाएनन भने प्रक्रियामा रहेका थप ५० हजार नेपाली रोकिए ।
यसबीच विदामा आएका करिब ६० हजार नेपाली पनि अहिले यतै अलपत्र परेका छन् भने विभिन्न श्रम गन्तव्यमा विदामा घर आउन लागेका, भिसा अवधि सकिएका र कम्पनीहरू बन्द भएका कारण करिब ६ लाख नेपाली अलपत्र छन् ।
चालू आर्थिक वर्षमा भित्रने रेमिट्यान्सको अनुपात घट्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यसको अनुपात पनि खुम्चिएर २२.६ प्रतिशतमा झर्ने मुद्रा कोषले जनाएको छ । गत आर्थिक वर्षमा जीडीपीको २५.३ प्रतिशतको अनुपातमा रेमिट्यान्स भित्रिएको थियो ।
मुद्रा कोषले नेपाल राष्ट्र बैंकबाट उपलब्ध विवरणका आधारमा यो प्रक्षेपण गरेको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ५ करोड १९ लाख ८७ हजार अमेरिकी डलर (५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ) रेमिट्यान्स भित्रिएको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ (आव २०२१) मा भने कोरोना भाइरसको संक्रमण रोकथाम भएर विश्व अर्थतन्त्र पुनः लयमा फर्केसँगै रेमिट्यान्स प्रवाह बढेर ८ अर्ब ४० करोड अमेरिकी डलर (करिब साढे ९ अर्ब रुपैयाँ) पुग्ने मुद्रा कोषले जनाएको छ।
प्रकाशित समय १६:२१ बजे

















