गृहपृष्ठ गण्डकी प्रदेशको बजेट अधिवेशन सुरू, कोरोना महामारीबारे आरोप-प्रत्यारोप
गण्डकी प्रदेशको बजेट अधिवेशन सुरू, कोरोना महामारीबारे आरोप-प्रत्यारोप
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । सामाजिक दूरी कायम गर्दै पोखरा सभागृह हलमा प्रदेश सभाको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
बजेट अधिवेशनको पहिलो दिन सबै सदस्यलाई स्वागत गर्दै सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराए । त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने चार राजनीतिक दलका नेताले दलगत रुपमा मन्तव्य राखेका थिए । वक्ताहरू सबैको मन्तव्य कोरोना महामारीबारे केन्द्रित थियो । सत्तापक्षले काेराेना महामारी राेक्न सरकारले उचित पहलकदमी लिएकाे दावी गरेकाे थियाे भने प्रतिपक्षीहरूले सरकार काेराेना संक्रमण राेक्न असफल भएकाे आराेप लगाएका थिए ।
बैठकमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोराना प्रकोपले प्रदेश सरकारको औचित्य पुष्टि गरेको बताए । उनले कोराना रोकथामका लागि प्रदेश सरकारले चालेका कदमहरु प्रभावकारी भएकाे दावी गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार कोराना रोकथाममा असफल भएको आरोप लगाए । संक्रमण रोकथामका लागि जतिसक्दो धेरै परीक्षण गर्नुपर्ने भए पनि प्रदेश सरकारले त्यसाे गर्न नसकेको उनले बताए ।

बैठकमा जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले प्रदेश सरकारले कोराना रोकथामका लागि तदारुकताका साथ लाग्नुपर्नेमा जाेड दिए ।
यही अधिवेशनमा नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट पेश हुनेछ । प्रदेश बजेट असार १ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । अर्को बैठक अगामी जेठ १३ गते दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
प्रकाशित समय २०:४८ बजे
















