गृहपृष्ठ सुकुटेमा बलमिच्याइँ

सुकुटेमा बलमिच्याइँ

फाइल तस्बिर ।

सन् १९९८ मा भोटेकोसी नदीको किनारमा सुकुटे बिच रिसोर्ट एन्ड रेन्सुरेन्ट स्थापना गर्दा सोलुखुम्बुका महेन्द्रसिंह थापासँग एउटा सबल र अब्बल व्यवसायी बन्ने अपेक्षा मात्र थियो । इक्वेडरका नागरिकको साथमा सुकुटे बिचलाई अघि बढाउँदै गर्दा उनले माओवादीको १० वर्षे सशस्त्र युद्धका कयौँ अवयव छिचोले । स्थापनाको २२ बर्से अवधिमा पर्यटनमा आफूलाई स्थापित गराउन उनले निकै मेहनत गर्नुपर्‍यो ।

सुकुटे बिच धेरैको मानसपटलमा ताजै हुनुपर्छ किनकि यो पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिमागी बोझ बिसाउने थलो पनि हो । तीन महिनाअघि फागुन १७ गतेदेखि २१ गतेसम्म चलेको सुकुटे महोत्सवले यसलाई अझै चिनायो ।

थापाको सुकुटे बिचलाई साथ दिन भूकम्पपछि १० वटा रिसोर्ट सुकुटे क्षेत्रमा खुले । र, सुकुटेले स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिदेखि मन्त्रीसम्म अनि नेपाली कांग्रेस र नेकपाका गुन्डा र प्रहरीसम्म सबै व्यहोरिरहेको छ ।

अहिले सुकुटे क्षेत्रका रिसोर्टको नेतृत्व रक रिभरसाइड रेस्टुरेन्ट एन्ड रिसोर्टका सञ्चालक एवं सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले गरिरहेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १ का तीनवटा, ९ का चारवटा, ११ को एउटा तथा सुनकोसी गाउँपालिका ३ को एउटा र ४ का दुईवटा रिसोर्ट संघमा आबद्ध छन् । ‘अरु पनि १६‑१७ वटा रिसोर्ट यहाँ खुल्दैछन्,’ ३६ वर्षे युवा व्यवसायी श्रेष्ठ भन्छन्, ‘काठमाडौँबाट नजिक भएकाले धेरैले यहाँ सम्भावना देखेका छन् ।’

कसरी पुगे उनी त्यहाँ ?

नारायण श्रेष्ठ सिन्धुपाल्चोकको बलेफीमा २०४० सालमा जन्मिएका हुन् । ८ वर्षको हुँदा परिवारको साथमा उनी काठमाडौँ आए । यतै शिक्षा लिए । व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गरे र होटल व्यवसायमा हात हाले । सामाखुसीमा व्यवसाय राम्रै चलिरहेको थियो । २०७२ साल वैशाखको भूकम्पले सबै चौपट बनायो । घरको छतले किचेर दुईजना कर्मचारीको ज्यानसमेत गयो ।

नारायण श्रेष्ठ

केही समय उनी विरक्तिए । जन्म गाउँ फर्किए । स्थलगत अध्ययन गरे र रिसोर्ट खोल्ने योजनासहित काठमाडौँ फर्किए । चौतारा साँगाचोकगढी ९ बलेफीमै कसैले २०६४ सालमा दर्ता गरेर चलाउन नसकेको रिसोर्ट रहेको थाहा पाए । सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको संगमस्थलमा रहेको रक रिभरसाइड रिसोर्ट काठमाडौँबाट जम्मा ७१ किलोमिटर दूरीमा रहेको पत्ता लगाए र किने ।

सबै तयारी गर्दा अरु एक वर्ष बित्यो । आफ्नै जन्मगाउँमा रिसोर्ट खोल्दा धेरै सहज होला भन्ने उनको सोचाइ थियो । ‘तर परिस्थिति विपरीत देखियो,’ उनी भन्छन्, ‘बरु स्थानीय जनप्रतिनिधि, टोले गुन्डा, प्रदेश प्रतिनिधि, प्रहरी र मन्त्रीसम्मको सामना गर्नुपर्‍यो ।’ अहिले श्रेष्ठले सुकुटेमा आफूलाई त स्थापित गरिसकेका छन् । तीन रोपनी जग्गाबाट सुरु गरेको उनको व्यवसाय १३ रोपनीमा फैलिसकेको छ । साढे ५ करोड लगानी भइसकेको छ ।

सुकुटेको पर्यटन

सुकुटे अत्यन्तै सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो । सुन्दर त्यत्तिकै छ । काठमाडौँबाट शुक्रबार गएर शनिबार फर्किंदा सुकुटेका यादहरू कहिल्यै नबर्सिने गरी मानसपटलमा विराज हुनेछन् । कारण‑ सुकुटेको पर्यटन प्रत्यक्षतः भोटेकोसीको र्‍याफ्टिङसँग जोडिएको छ । भोटेकोसी जलविहार विश्वकै साहसिक जलविहारमध्येमा पर्छ । विदेशीहरू भोटेकोसीको जलविहारकै लागि ठूलो धनराशि खर्च गर्छन् । साउन, पुस र माघलाई अफसिजन मानिन्छ । बाँकी महिनाहरु कसरी बित्छ, स्वयं पर्यटन व्यवसायी र कमर्चारीसमेतले मेसो पाउँदैनन् । ‘शुक्रबार र शनिबार त सास फेर्ने फुर्सदसमेत हुँदैन,’ श्रेष्ठ भन्छन्, ‘यहाँका सबै रिसोर्ट टनाटन भरिएका हुन्छन् ।’

साउन, पुस र माघलाई अफसिजन मानिन्छ । बाँकी महिनाहरु कसरी बित्छ, स्वयं पर्यटन व्यवसायी र कमर्चारीसमेतले मेसो पाउँदैनन् ।

हुन पनि साताभरको थकान मेट्ने काठमाडौँ नजिकैका चिसापानी, कुलेखानी, चित्लाङजस्तै तर भिन्न स्वाद दिने गन्तव्य हो सुकुटे । काठमाडौँको धुलोधुवाँबाट चौबिस घण्टाका लागि मुक्त हुन चाहने जोकोहीका लागि ‘रिफ्रेस सेन्टर’ हो सुकुटे । राजधानीको उकुसमुकुस जति छोडिदिए पनि भोटेकोसीको छालमा बिसाइदिने ताकत छ सुकुटेसँग ।

गत आर्थिक वर्ष २०७५/७६ मा सुकुटे पुगेका ८५ हजार पर्यटक भोटेकोसीमा जलविहार नगरी फर्किन सकेनन् । ‘चालू आर्थिक वर्षको पूर्ण तथ्य नआउँदै लकडाउन लाग्यो,’ श्रेष्ठले भने, ‘चैत १० गतेदेखि सबै व्यवसाय ठप्प छ, अहिलेसम्मको हिसाब निकाल्ने जाँगरसमेत छैन ।’ सुकुटेमा पुग्ने ९५ प्रतिशत पर्यटक आन्तरिक हुन्छन् । ‘विदेशी त ५ प्रतिशत मात्र हुन्छन्,’ उनी भन्छन्, ‘अरु धेरै युरोपेली पर्यटक हुन्छन् ।’

नेपाली पर्यटक तातोपानीदेखि बाह्रबिसे (माथिल्लो भोटेकोसी)सम्म र खाडीचौरदेखि दोलालघाटसम्म रमाउँछन् । यो १७‑१८ किलोमिटरको दूरीको र्‍याफ्टिङ गरेर उनीहरू फर्किन्छन् । साहसिक जलविहार विदेशीको रोजाइमा पर्छ । सुनकोसी ट्रिप भनिने बलेफीदेखि चतारासम्मको जलविहार विदेशीले मात्र गर्ने उनले बताए । ‘८ देखि १० दिन लाग्छ,’ श्रेष्ठ भन्छन्, ‘महँगो हुने भएकाले र फुर्सद मिलाउन नजानेको भएर हुनसक्छ गत वर्ष पनि ८० जना विदेशी मात्र यसमा सहभागी भए ।’ सुनकोसी ट्रिपको लागि डेढ लाखसम्म खर्च लाग्छ ।

सुकुटेका रिसोर्टहरूमा क्षमताअनुसार हप्तान्तमा कम्तीमा २०० देखि बढीमा १२ सय जनासम्म पयर्टक अटाउँछन् । सुकुटेका ११ रिसोर्टमा करिब ११ सय कर्मचारीले नियमित तलब बुझ्छन् । यसबाहेक कामको दबाबका बेला सिजनल रोजगारी पनि धेरैलाई मिल्छ ।

रिसोर्टसँग जोडिएको क्षेत्र

पर्यटकलाई भुलाउनु, व्यवसायीले कमाउनु र हजार‑बाह्र सयलाई रोजगारी दिनु रिसोर्टका लागि आधारभूत कुरा हो । यससँग जोडिएका अन्य क्षेत्र धेरै छन् । भोटेकोसी जलविहारले यसैका कारण व्यावसायिकता ग्रहण गरिरहेको छ । तरकारी, माछामासु करोडौँको खपत हुन्छ । एउटै रिसोर्टले मासिक करिब १० लाखको तरकारी र त्योभन्दा बढी मूल्यको माछामासु किनिरहेको छ । ‘त्यो सबै काठमाडौँबाट ल्याउनुपर्छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘अहिलेकै स्थितिमा मासिक एक करोड रूपैयाँको तरकारी र त्यति नै मूल्यको माछामासु काठमाडौँबाट आइरहेको छ, अरु १६‑१७ वटा थपिँदा तरकारी र माछामासुको आपूर्ति अवस्था के होला ? ‘

स्थानीय स्तरमा जतिसुकै तरकारी र माछामासु उत्पादन होस् त्यसको सबै जिम्मा आफूहरूले लिने बताउँदा पनि स्थानीय सरकारले कृषकलाई उत्साहित गर्ने कुनै योजना नल्याएको उनले बताए ।

अहिले व्यवसायीकै पहलमा तरकारी उत्पादन, संकलन र भण्डारणको काम अघि बढिरहेको छ । ‘हामीले सुकुटे महोत्वसमा कृषकलाई व्यावसायिक उत्पादनका लागि प्रेरित गरेका थियौँ,’ उनले भने, ‘तर महोत्सव नसकिँदै सबै चौपट भयो, योजना त ढिलोचाँडो अघि बढ्छ ।’ पर्यटन व्यवसायीहरू कृषकलाई कृषि उपज उत्पादनका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँछन् ।

भोटेकोसीको जलविहारमा डोजर

भोटेकोसी स्वदेशीदेखि विदेशी पर्यटकसम्म साहसिक जलयात्राका लागि प्रसिद्ध छ । तर, भोटेकोसीको जलविहारमा जनप्रतिनिधि नै डोजर चलाइरहेका छन् । लकडाउनको समयमा पनि दिनरात डोजरले बालुवा निकालिन्छ, रातभर काठमाडौँ ओसारिन्छ । कसैबाट रोकटोकको गुन्जायस छैन । कारण स्थानीयदेखि प्रदेश र केन्द्रीय जनप्रतिनिधि नै त्यसको हिस्सेदार छन् ।

भोटेकोसी स्वदेशीदेखि विदेशी पर्यटकसम्म साहसिक जलयात्राका लागि प्रसिद्ध छ । तर, भोटेकोसीको जलविहारमा जनप्रतिनिधि नै डोजर चलाइरहेका छन् ।

नगर प्रमुख अमानसिंह तामाङ पर्यटन व्यवसायीले एक रुपैयाँ कर नतिरेका कारण भोटेकोसीलाई आम्दानीको माध्यम बनाउनुको विकल्प नभएको बताउँछन् । ‘हामीले नीति बनाएर पर्यटन व्यवसायलाई करको दायरामा ल्याउन धेरै प्रयास गर्‍यौँ तर उनीहरू एक रुपैयाँ राज्यलाई तिर्न तयार छैनन्,’ उनी भन्छन्, ‘पर्यटन क्षेत्रबाट केही आम्दानी हुने हो भने ढुंगा, बालुवाका लागि खोलामा डोजर जानै दिइँदैन ।’ यसको अर्थ तत्कालीन आम्दानीका लागि दूरगामी प्रभाव पर्ने काम गर्न नगरपालिका स्वयं उद्यत् छ । यस्ता कार्यले भोटेकोसीको र्‍याफ्टिङमा गम्भीर असर पर्न सक्नेमा उनीहरु गम्भीर देखिएका छैनन् ।

प्रतिनिधि सभा सदस्य एवं सभामुख अग्निप्रसाद सापकोटाको क्षेत्र हो सुकुटे । सभामुख हुनुअघि उनीबाट त्यहाँको पर्यटन क्षेत्रको जगेर्ना र खोलामा डोजर चलाउन नदिने आश्वासन भयो । तर, अहिलेसम्म त्यो आश्वासनमै सीमित छ । लकडाउनको मौका छोपेर त्यहाँको बालुवा, ढुंगा तस्करी झनै फस्टाएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सभा सांसद सरेश नेपाल र ‘ख’ का सांसद अरुण नेपाल हुन् । यी दुवै जना पूर्वएमाले हुन् । अरुण नेपाल बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुन् । सरेशका छोराको क्रसर उद्योग छ त्यहाँ । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख तामाङ र वडा नम्बर ९ का अध्यक्ष विष्णु लामा पूर्वमाओवादी पृष्ठभूमिका हुन् । कांग्रेस नेता, पूर्वस्वास्थ्य राज्यमन्त्री एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत पनि सिन्धुपाल्चोक बाह्रबिसेका हुन् । त्यस्तै एमाले नेता अमृत बोहोरा पनि सोही क्षेत्रका हुन् । तर, करिब ९० प्रतिशत रोजगारी सिर्जना गर्ने सुकुटेको पर्यटन क्षेत्र यी कोहीको पनि प्राथमिकतामा परेको छैन ।

सुकुटेमा बलमिच्याइँ

सुकुटे बिचबाहेकको कुरा गर्ने हो भने सुकुटेको पर्यटन क्षेत्रले दुई वर्षकै अवधिमा धेरै आरोह‑अवरोह पार गरिसकेको छ । विगतमा सुकुटेमा स्थानीय टोले गुन्डा नै आएर धम्क्याउँथे । पर्यटन व्यवसायी मिलेर उनीहरूलाई केही तह लगाएका छन् । विगतमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सहयोगीसमेतले पर्यटन व्यवसायीलाई धम्क्याउँथे ।

अहिले पनि सुकुटेको पर्यटनमा साँढेजुधाइ चलिरहेको छ । सुकुटे बिचका सञ्चालक थापाले प्रचण्ड, माधव नेपाल, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, कांग्रेसका अरु शीर्षस्थ नेता बसेकै कारण आफूलाई स्थानीय सरकारभन्दा माथि ठानिरहेको नगर प्रतिनिधिहरूको आरोप छ । नगर प्रमुख तामाङ पर्यटन व्यवसायीलाई तीन वर्षको अवधिमा पनि करको दायरामा ल्याउन नसकिएको बताउँछन् । ‘हामीले कति पटक पत्र काट्यौँ तर उहाँहरू करको दायरामा आउन तयार नै हुनुहुन्न ।’

चौतारा साँगाचोकगढी नगरपालिका ९ का अध्यक्ष लामा पनि व्यवसायीले करको दायरामा आउन अटेर गरेको बताउँछन् । ‘हामीले नवीकरण शुल्कबापत वार्षिक २० बेडभन्दा सानाबाट २५ हजार र त्योभन्दा ठूलाबाट ५० हजार रुपैयाँ लिने गरेका छौँ,’ उनले भने, ‘त्यसभन्दाबाहेक कुनै पनि कर तिर्न उहाँहरू तयार हुनुहुन्न, कुनै पनि ग्राहकलाई भ्याट बिल इस्यु गरेको मलाई थाहा छैन ।’ प्रति पर्यटक सानो मूल्यमा भए पनि पर्यटन शुल्क तिर्न व्यवसायी तयार हुने हो भने केही वर्षमै नगरपालिकाको कायापलट हुने उनले बताए ।

सुकुटेका केही रिसोर्टले ठूलो मात्रामा सार्वजनिक जग्गा ओगटेर व्यवसाय गरेका छन् । नगरपालिकाले सरकारी अमिनबाट नापजाँच गराएर सबै रेकर्ड निकालेको छ । ‘सिन्धु पर्यटन व्यवसायीसँगै बसेर सार्वजनिक जग्गा प्रयोग भइहालेको छ, संरचना भत्काउनुभन्दा कर तिरेर व्यवसाय सञ्चालन गर्नुस् भन्यौँ,’ अध्यक्ष लामाले भने, ‘सार्वजनिक जग्गा उपयोग गरेबापत वार्षिक प्रतिरोपनी २० हजार रुपैयाँका दरले कर तिर्नुस् भन्यौँ, सहमत हुनुभयो, दस्तखत पनि गर्नुभयो तर आजसम्म तिर्नुभएको छैन ।’ उनका अनुसार सुकुटे बिचको नम्बरी जग्गा ३ रोपनी ६ आनामात्र हो भने बाँकी १४ रोपनी सार्वजनिक जग्गामा स्विमिङ पुल, बुद्ध पार्कलगायतका स्थायी संरचना बनाइएको छ ।

सुकुटे बिचको नम्बरी जग्गा ३ रोपनी ६ आनामात्र हो भने बाँकी १४ रोपनी सार्वजनिक जग्गामा स्विमिङ पुल, बुद्ध पार्कलगायतका स्थायी संरचना बनाइएको छ ।

सुकुटेको पर्यटन प्रवर्धनका लागि व्यवसायी र स्थानीय सरकार मिलेर जानुको विकल्प नभए पनि व्यवसायीले सधैँ बलमिच्याइँ गर्ने गरेको अध्यक्ष लामाले बताए । ‘हामीले तरकारी, माछामासु उत्पादनको योजना अघि बढाइरहेका छौँ, पर्यटकलाई बाहिरको जंक फुडभन्दा स्थानीय आलु, पिँडालुलगायतका परिकार खुवाउनु आग्रह गरेका छौँ, त्यो पनि कार्यान्वयनमा आएको छैन,’ उनले भने, ‘तर यस्तोमा हामीले जबर्जस्ती गर्ने कुरो आउँदैन । मै मात्र खाउँ मै मात्र लाउँ को शैली चाहिँ राम्रो भएन ।’

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु