गृहपृष्ठ विद्युतीय गाडीमा अर्बौं भ्रष्टाचार भएको आरोप लगाउँदै सांसद सुवालद्वारा अर्थमन्त्रीको राजीनामा माग

विद्युतीय गाडीमा अर्बौं भ्रष्टाचार भएको आरोप लगाउँदै सांसद सुवालद्वारा अर्थमन्त्रीको राजीनामा माग

विद्युतीय गाडी आयातमा अर्बौं भ्रष्टाचार भएको गलत आरोप लगाउँदै सांसद प्रेम सुवालले सुवालद्वारा अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि जेठ १५ गते सार्वजनिक बजेटका विषयमा सांसदहरले पटक‑पटक हचुवा प्रश्न उठाउने गरेका हुन् ।

मंगलबारको प्रतिनिधिसभामा बैठकमा सांसद प्रेम सुवालले बजेटको अघिल्लो दिन दुई‑तीन सय विद्युतीय सवारी साधन आयात भएको र बजेटमार्फत कर उल्लेख्य बढाएर ठूलो भ्रष्टाचार भएको भन्दै राजीनामा भाग गरेका छन् । जबकि, वीरगन्ज भन्सार र सुक्खा बन्दरगारबाट जनवरीयता मात्रै जम्मा १५६ वटा विद्युतीय सवारी साधन भित्रिएका छन् । यस विषयमा वीरगन्ज भन्सार र सुक्खा बन्दरगाह दुवैले स्पष्ट गराइसकेका छन् ।

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट रुपन्देही ५ का प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य भरतकुमार शाहले ‘सरकारको बजेट आउनुभन्दा केही दिन पहिले डेढ सय विद्युतीय गाडीहरु बीरगन्ज भन्सारबाट भित्रिएको र कर बढ्दै छ भन्ने कुरा कसरी लिक भयो ?’ भन्दै प्रश्न गरेका थिए । उनले भनेका थिए, ‘मन्त्रीज्यूले बिजुलीबाट चल्ने गाडीमा भन्सार बढाउनुभएको छ । सरकारको बजेट आउनुभन्दा केही दिन पहिले डेढ सय विद्युतीय गाडीहरु बीरगन्ज भन्सारबाट भित्रिएका छन्, यो कसरी लिक भयो ? पाँच सय डिजेल पेट्रोलका गाडीहरु भन्सारमा नछुट्ने र यी गाडीहरु रातारात कसरी छुटे ? यो बारेमा मन्त्रीज्यूले छानबिन गर्नुहुन्छ कि हुन्न ?’

त्यसमाथि पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले समेत शाहको हचुवा तथ्यको पछि लागेर त्यसको जवाफ माग्न सहयोग गरेका थिए । अर्थमन्त्री डा. खतिवडाले गलत तथ्यबारे बुझ्न पनि चाहेका छैनन् भने त्यसबारे सदनलाई स्पष्ट पार्न आवश्यक पनि ठानेका छैनन् । यसले प्रश्न सोध्ने र पन्छिने दुवैलाई सहज भएको छ ।

तथ्य के हो ?

वीरगन्जमा रहेका वीरगन्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट दुवैवटा बजेट आउनुअघि त्यति ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्रिएकै छैनन् । वीरगन्ज भन्सार कार्यालयबाट सन् २०२० जनवरीयता जम्मा ६ वटा र सुक्खा बन्दरगाहबाट जम्मा १५६ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाका अनुसार ती विद्युतीय सवारीसाधन पनि एकैपटक भन्सार पास भएका होइनन् । वीरगन्ज भन्सार कार्यालयपरिसरमा डिजेल, पेट्रोलबाट चल्ने ५०० सवारीसाधन किन अड्किए ? भन्ने सांसद शाहीको प्रश्न पनि निराधार छ । ‘भन्सार यार्डमा सामान्य अवस्थामा पनि तीन‑चार सय सवारीसाधन हुन्छन्,’ प्रमुख भन्सार प्रशासक निरौला भन्छन्, ‘अहिले यकिन तथ्यांक त थाहा छैन तर सात‑आठ सय सवारीसाधन हुनुपर्छ ।’

भन्सार यार्डमा यतिबेला सवारीसाधन पास नहुनुको कारण भने वित्तीय व्यवस्थापनको समस्याले हुनसक्ने उनले औँल्याए । ‘लकडाउनका कारण व्यवसायी वित्तीय समस्यामा छन्, त्यस्तै ड्राइभरलगायतका जनशक्ति समस्या होलान्,’ निरौलाले भने, ‘तर सामान्य अवस्थामा तीन‑चार सय सवारीसाधन हुने ठाउँमा अहिलेको विषम परिस्थितिमा सात‑आठ सय हुनुलाई सामान्य नै मान्नुपर्छ ।’

सामान्यतः बजेट सार्वजनिक हुनु एक‑दुई दिनअघि जहिल्यै पनि भन्सार दर हेरफेर हुनसक्ने अनुमानमा अधिकतम व्यापारी व्यवसायीले सामान छुटाउने गरेको भन्सार कार्यालयले जनाएको छ । ‘बजेट आउनुअघि केही बढी सामान पास हुनु सामान्य हो,’ निरौलाले भने, ‘यो वर्ष पनि केही दिनअघिसम्म औसत ५ करोड संकलन भइरहेकोमा अघिल्लो दिन मात्रै १ अर्ब १८ करोड संकलन भएको थियो ।’

सुक्खा बन्दरगाहबाट पनि सन् २०२० का ६ महिनामा जम्मा १५६ वटा सवारीसाधन पास भएका छन् । ‘तीमध्ये एमजी इलेक्टिक वैशाख १५ गते १५ वटा, १६ गते ३० वटा र जेठ ५ गते ७५ वटा गरी १२० वटा भित्रिएका हुन्,’ सुक्खा बन्दरगाहका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले भने, ‘जेठ १४ गते कियाका दुईवटा विद्युतीय सवारीसाधन पास भएका छन् ।’ त्यसअघिका चार महिनामा ३४ वटा सवारीसाधन आयात भएको उनले बताए । भन्सार यार्डमा डिजेल, पेट्रोलबाट चल्ने जम्मा ५‑६ वटा सवारीसाधन रहेको उनले स्पष्ट पारे ।

यो पनि पढ्नुहोस्

सांसदको हचुवा प्रश्न‑ बजेट आउनुअघि वीरगन्जबाट कसरी भित्रिए डेढ सय विद्युतीय सवारी ?

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु