गृहपृष्ठ कर्णालीको बजेट : कोरोनाविरुद्ध डेढ अर्ब, मृतकका परिवारलाई १ लाख राहत

कर्णालीको बजेट : कोरोनाविरुद्ध डेढ अर्ब, मृतकका परिवारलाई १ लाख राहत

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कोरोना प्रतिकार्यमा १ अर्ब ५५ करोड बजेट विनियोजन गरेको छ । कोरोनाभाइरसबाट मृत्यु हुनेका परिवारलाई १ लाख रुपैयाँ राहतसमेत दिनेगरी आइतबार सरकारले ३३ अर्ब ७४ करोड रुपैयाँको आगामी आवका लागि आय तथा खर्चको विवरण सार्वजनिक गरेको हो ।

पुँजीगततर्फ ५७ प्रतिशत, चालूतर्फ ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षममा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ । चालू आर्थिक वर्षको भन्दा करिब ५० करोड कम बजेट ल्याएको कर्णाली सरकारले महामारी तथा भोकमरी नियन्त्रण र रोजगारी सिर्जनामा केन्द्रित भएर बजेट ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

कर्णाली प्रदेश अस्पतालमा २ सय बेड क्षमताको आइसोलेसन, ४० बेड क्षमताका सघन उपचार कक्षा आईसीयू, २० भेन्टिलेटरसहितको उपचार कक्ष बनाउने र प्रत्येक जिल्ला अस्पतालमा कम्तीमा ५० वटा आइसोलेसन बेड, १० वटा आईसीयू र पाँचवटा भेन्टिलेटर कक्षको व्यवस्था गर्ने गरी सरकारले बजेट ल्याएको छ । त्यस्तै कर्णाली प्रदेश अस्पताललाई ३ सय शय्याको शिक्षण अस्पताल बनाउने र राकम कर्णालीमा ट्रमा अस्पताल स्थापना गर्न बजेट विनियोजन गरिएको छ ।

कर्णालीमा खाद्य संकट टार्न भारतलगायतका विभिन्न देशबाट महामारीको कारण घर फर्किएका नागरिकलाई श्रममा जोड्ने तथा श्रमसहितको रोजगारी कार्यक्रमका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै बजेटको २० प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ उत्पादनतर्फ विनियोजन भएको छ । ‘आफ्नो गाउँ आफैँ बनाऔं’ भन्ने नारासहित मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यक्रम अगाडि बढाउने गरी सरकारले उत्पादनमुखी बजेट ल्याएको हो । श्रमसहितको रोजगार, रोजगारमूलक पूर्वाधार विशेष कार्यक्रमलगायतका एक करोडसम्मका आयोजनामा मेसिनको प्रयोग नगर्ने नीति सरकारले लिएको छ ।

अतिरिक्त सेवा सुविधा कटौती

आगामी वर्ष प्रशासनिक खर्च कटौती गर्दै मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीले बैठक भत्ता, खाजा खर्च, सञ्चार खर्च, अथिति सत्कार र जोखिम भत्ता नपाउने भएका छन् । कोभिड १९ को जोखिम र उत्पादनलाई प्राथमिकता दिने उद्देश्यबमोजिम सरकारले कार्यालय सञ्चालन, मर्मत, इन्धन खर्च, विविध खर्च र भ्रमण खर्चमा समेत ६० प्रतिशत कटौती गरेको छ ।

कृषिलाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेशभित्र उन्नत जातका फलफूल र पशुनश्ल सुधारका लागि २७ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै कोभिड केन्द्रित शिक्षा कार्यक्रम, हवाई र पर्यटन सुधार विकास, उद्योग क्षेत्रको विकास, सामाजिक न्याय सुरक्षा र सशक्तीकरण कार्यक्रम, भौतिक पूर्वाधार विकासलगायत क्षेत्रमा सरकारले बजेट विनियोजन गरेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले जानकारी दिए ।

प्रकाशित समय १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु