गृहपृष्ठ गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड २१ लाख

गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड २१ लाख

कोरोना शीर्षकमा २ अर्ब ९१ करोड

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसमध्ये कोरोनाभाइरस (कोभिड- १९)को लागि विभिन्न शीर्षकमा २ अर्ब ९९ करोड बजेट छुट्याइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन भएको छ ।

कोरोनाको विभिन्न शीर्षकमा २ अर्ब ९१ करोड

यस वर्षको बजेट कोरोनाबाट पर्न गएको असरलाई दृष्टिगत गर्दै प्रदेश भित्रका जिल्ला अस्पतालमा गुणस्तरीय आइसोलेसन बनाउनको लागि ६० करोड ४४ लाख बजेट छुट्याइएको छ । कोरोनाभाइरस (COVID-19) रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्न ३० करोड जम्मा गरिसकिएको छ । सबै अस्पतालमा सवारी साधन खरिद गर्न ४५ लाखका दरले ४ करोड ९५ लाख र २ देखि ५ शय्या क्षमताको सघन उपचार कक्ष निर्माण गर्न १४ करोड रूपैयाँ छुट्याइएको छ ।

त्यस्तै लकडाउनबाट प्रभावितलाई राहत वितरण गर्न सबै स्थानीय तहलाई ६ करोड ५० लाख रकम उपलब्ध गराइएको छ । सुरक्षा संयन्त्रको परिचालन तथा व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयलाई २ करोड २५ लाख र सुरक्षा निकायलाई ४५ लाख रूपैयाँ उपलब्ध गराइएको मन्त्री गुरूङले जानकारी दिए ।

पोखरा सभागृह हलको निर्माण एवं स्तर उन्नतिको लागि २ करोड, कृषिजन्य उत्पादनको लागि २ करोड, बाली तथा पशुपक्षी बिमाको लागि २ करोड, मुख्यमन्त्री स्थानीय कार्यक्रमअन्तर्गत ४ करोड २६ लाख, सडक निर्माणमा ६ अर्ब १७ करोड ३ लाख, विद्युतको पहुँच विस्तारमा १८ करोड विनियोजन गरिएको मन्त्री गुरूङले प्रदेशसभामा जानकारी गराए ।

सरकारी अस्पतालमा सोलार जडानको लागि ३ करोड ६० लाख, प्रशासनिक भवन निर्माणका लागि ६८ करोड ५० लाख, व्यवसायिक शिक्षा तथा सीप विकास तालिम केन्द्र सञ्चालन हुने तालिमका लागि १० करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत संकुचन भएको अवस्थामा पनि चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेटको आकार बढ्न गएको छ । कोभिड- १९ महामारीको प्रभाव र असर छिट्टै नियन्त्रण भई विकास निर्माण, उद्योग, पर्यटन, कृषि, यातायात, व्यापार व्यवसाय, सार्वजनिक प्रशासनलगायत नागरिकको दैनिक जनजीवन सामान्य हुँदै जाने विश्वास लिएको मन्त्री किरण गुरुङले बताए । यस बजेटको कार्यान्वयनबाट उत्पादन र उत्पादकत्वमा सकारात्मक वृद्धि हुने, थप आय तथा रोजगारीका अवसरको सृजना हुने, समग्रमा आर्थिक वृद्धिले गति लिने र समृद्ध प्रदेश निर्माणको आधारशिला खडा हुने उनले जनाए ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु