गृहपृष्ठ तीन महिनामा राजस्व उठ्यो १ खर्ब, खर्च भयो पौने तीन खर्ब
तीन महिनामा राजस्व उठ्यो १ खर्ब, खर्च भयो पौने तीन खर्ब
कोभिड–१९ नफैलियोस् भनेर अबलम्बन गरिएको घरबन्दीका अवधिमा आम्दानी गुमाएको तर खर्च पनि भइरहेको अवस्थामा सरकार स्रोतको गम्भीर संकटमा परेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सरकारले चैतदेखि जेठ मसान्तमा गरि तीन महिनामा जम्मा १ खर्ब १ अर्ब रुपैयाँमात्रै राजस्व उठाउन सकेको अवस्थामा २ खर्ब ७२ अर्ब ७० करोड रुपैयाँ बजेट खर्च भएको छ ।
कोभिड–१९ को महामारी नफैलिओस् भनेर चैत ११ गतेबाट घरबन्दी अबलम्बन गरिएको थियो । घरबन्दीका कारण चैतमा सरकारले जम्मा ४३ अर्ब ९ करोड रुपैयाँमात्रै राजस्व संकलन गर्न सक्यो भने वैशाखमा केबल १६ अर्ब १ करोडमात्र रुपैयाँ संकलन हुनसक्यो छ ।
जेठमा भने राजस्व असुलीमा केही सुधार आइ ४१ अर्ब १ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षसँग तुलनात्मक रूपमा हेर्दा सरकारको स्रोतको संकटमा फँसेको देखिन्छ । २०७५ को चैत र २०७६ वैशाखमा मात्रै १ खर्ब ४० रुपैयाँ राजस्व उठेको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले हालै संसदमा जेठको तथ्यांक उद्धृत गर्दै मासिक ४० अर्ब रुपैयाँ खर्च हुँदा भन्सारतर्फको राजस्वबाट १५ अर्ब रुपैयाँमात्र राजस्व संकलन भएको र केही थोरै अनुपातमा अन्य शीर्षकका राजस्व जम्मा भइरहेको बताएका थिए ।
अर्थमन्त्रीले संसदमा भनेको तथ्यांक र खर्चको स्थितिमा भने मेल खाँदैन । जेठमा ४१ अर्ब रुपैयाँ राजस्व उठ्दा १ खर्ब २२ अर्ब रुपैयाँ खर्च भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यद्यपि, यसले पनि सरकारसँग खर्चका लागि अपर्याप्त स्रोत भएको देखाएको छ ।
सरकारको खर्च स्थिति हेर्दा ०७६ फागुनमा १ खर्ब २४ अर्ब रुपैयाँ खर्च भएकोमा चैतमा यो रकम ६४ अर्ब ६ करोडमा झर्यो भने वैशाखमा ८५ करोड ८ करोड र जेठमा १ खर्ब २२ अर्ब ३० करोड रुपैयाँ खर्च भएको देखिन्छ ।
सरकारले कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा खरिद, पूर्वाधार निर्माणसहित अन्य शीर्षकमा खर्च जारी राखेको र नियमित प्रशासकीय खर्च (तलबभत्ता आदि) निकासा भइरहेकाले चालूतर्फको खर्च भइरहे पनि पुँजीगत खर्च खुम्चिएको हो ।
फागुनमा जम्मा १९ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको सरकारले कोभिड–१९ का कारण विकास निर्माण ठप्प भएको कारण पुँजीगत खर्च नभएको बताउँदै आएको छ । चैतमा ४४ अर्ब ६० करोड रुपैयाँ चालू खर्च हुँदा जम्मा ८ अर्ब ७ करोड रुपैयाँमात्र पुँजीगत खर्च भयो ।
यस्तै, वैशाखमा ७६ अर्ब ७० करोड रुपैयाँ चालू खर्च गर्दा ९ अर्ब १० करोड रुपैयाँ पुँजीगत खर्च गरेको सरकारले जेठमा चालूतर्फ ९८ अर्ब ४० करोड र पुँजीगततर्फ ११ अर्ब ९ करोड रुपैयाँमात्र खर्च गरेको छ ।
वैशाख मसान्तसम्ममै बजेट घाटा १ खर्ब २९ अर्ब पुगिसकेको र स्रोत अभाव पूर्ति गर्नका लागि सरकारले १ खर्ब ३५ अर्ब आन्तरिक ऋण र ७४ अर्ब ६१ करोड रुपैयाँ बराबरको बाह्य ऋण परिचालन गरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय १९:१३ बजे

















