गृहपृष्ठ काठमाडौं महानगरलाई घरेलु तथा साना उद्योग महासंघको ५ बुँदे सुझावपत्र
काठमाडौं महानगरलाई घरेलु तथा साना उद्योग महासंघको ५ बुँदे सुझावपत्र
नेपाल घरेलु तथा साना उद्योग महासंघले उत्पादन गरेका वस्तुहरू स्वदेश तथा विदेशमा विक्रीवितरण गर्न निर्यात गृह खोल्न काठमाडौं महानगरपालिकासँग सहयोग माग गरेको छ । निर्यात गृहका लागि जग्गा उपलब्ध गराउन महासंघले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई सुझाव तथा प्रस्तावपत्र हस्तान्तरण गरेको छ ।
काठमाडौं, वाग्मती प्रदेश र नेपालभित्र रहेका लघु, घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका वस्तुहरू प्रयोगका लागि काठमाडौं महानगरपालिकाबाटै सुरुवात गर्न महानगर प्रमुख शाक्यसमक्ष अनुरोध गरिएको महासचिव डम्बर प्रसाद रेग्मीले बताए । सो अवसरमा प्रमुख शाक्यले महासंघसँग पहिलादेखि नै सहकार्य गर्दै आइरहेको स्मरण गर्दै आगामी दिनहरूमा मिलेर काम गर्ने आश्वासन दिएको महासचिव रेग्मीले जानकारी दिए ।
महासंघका प्रस्तावहरु :
१) लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई राहत दिनुपर्ने ।
२) स्टिमुलस प्याकेजलाई चक्रीय कोषको स्थापना गर्नुपर्ने ।
३) लघु, घरेलु तथा साना उद्यमी-व्यवसायीलगायत महानगरपालिका भित्रका करदाताहरुलाई कर छुटको व्यवस्था गर्नुपर्ने ।
४) राजस्व प्रशासनलाई करदातामैत्री बनाउनुपर्ने ।
५) महानगरपालिकाका क्षेत्र भित्रका उद्यम-व्यवसायहरुलाई थप व्यवस्थित गरिनुपर्ने ।
आगामी दिनमा सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत महासंघसँग निकटतम सहकार्यको निरन्तरता दिँदै लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धनका लागि महानगरले कार्यक्रम सञ्चालन गर्ने विश्वास रहेको महासचिव रेग्मीले बताए । यसका साथै सार्वजनिक निजी संवादको नीति अपनाई कार्यक्रम र योजनाहरु प्रभावकारी कार्यान्वयन हुनेमा महासंघको विश्वास छ ।
प्रकाशित समय १८:१० बजे

















