गृहपृष्ठ एनआइसी एशिया लघुवित्तद्वारा ऋणीलाई ब्याजदरमा छुट
एनआइसी एशिया लघुवित्तद्वारा ऋणीलाई ब्याजदरमा छुट
एनआइसी एशिया लघुवित्तले लकडाउनले प्रभावित ऋणीलाई ब्याजदरमा छुट सुविधा दिएको छ । लघुवित्तले राष्ट्र बैंकको निर्देशनअनुसार २०७७ वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत मसान्तसम्म कायम ब्याजदर ३ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल पूर्ण कार्यान्वयनमा लगेको जनाएको हो ।
यसका साथै लघुवित्तले ऋणीले जेठसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम असार मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको जनाएको छ ।
वित्तीय संस्थाले ३ प्रतिशत ब्याज छुटबाहेक बैंकबाट कर्जा लिएका ऋणीले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा र ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने जनाएको छ । यो सुविधापश्चात् अधिक ब्याजदरको छुट प्राप्त गर्ने ऋणीको ब्याजदर १२ प्रतिशत कायम हुनेछ ।
साथै, साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जामा लागू हुने प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।
यसका साथै लघुवित्तले ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागि आह्वान पत्र सार्वजनिक गरिसकेको छ । साधारण सेयरको बिक्री खुला तथा निष्कासन मिति २०७७ असार १० गते र निष्कासन बन्द हुने मिति छिटोमा असार १४ गते हुनेछ भने निष्कासन बन्द हुने मिति ढिलोमा असार २४ गते हुनेछ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका ३३ जिल्लामा १०५ शाखा कार्यालय छन् । साथीसँगै सबल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यो संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।
प्रकाशित समय १८:५७ बजे

















