गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा ३० लाख घातक रोग बिमा दाबी भुक्तानी
एनआईसी एशिया बैंकद्वारा ३० लाख घातक रोग बिमा दाबी भुक्तानी
एनआइसी एशिया बैंकले चामत्कारिक र सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बिमाबापत बैंकका दुई जना ग्राहकलाई १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख बिमा रकम भुक्तानी गरेको छ । चामत्कारिक बचत खाता ‘डायमन्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीको भुमइ निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचारबापत र सुपर चामत्कारिक बचत खाता ‘डायमन्ड’ श्रेणीको खाता खोलेका काठमाडौंको बूढानीलकण्ठका वसन्तराज कुँवरकी श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचारवापत रकम भुक्तानी गरिएको हो ।
सुपर चामत्कारिक बचत खातामा खातावालाका साथै परिवारका सदस्यका लागि पनि बिमा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा बिमा दाबी रकम बैंकले भुक्तानी गरेको छ ।
बचत योजनाको ‘डायमन्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्णरुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चवापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सँगै विभिन्न निःशुल्क सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै न्यु प्रिमियम सुपर चामत्कारिक योजनाअन्तर्गत खाता खोल्दा न्यूनतम २० हजारदेखि १ लाख ६० हजारसम्म फाइदा हुनेछ । यो खातामा ग्राहकले २१ लाखसम्मको बिमा छुट्टै किसिमले गर्नुपरेमा करिब १४ हजारबराबर बिमा शुल्कबापत थप बुझाउनुपर्ने हुन्छ । जसकारण ग्राहकलाई करिब १४ हजार प्रत्यक्ष फाइदा पुग्छ । त्यस्तै कर्जासम्बन्धी चामत्कारिक सुविधाबाट १ लाख १३ हजारसम्मको फाइदा हुने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । यसबाहेक नेपालभरका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल/इन्टरनेट, भाइबर बैंकिङ, निःशुल्क आईभीआरसेवा, निःशुल्क ई-कमर्स सेवा, स्विप इन-स्विप आउटलगायत जम्मा सेवाको बजार मूल्य गणना गर्दा खातावालाले करिब ८७ हजार रुपैयाँबराबरको फाइदा लिन सक्नेछन् ।
बैंकको बिमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १६० जनाभन्दा बढी ग्राहकले बिमाबापतको १ करोड ३३ लाखभन्दा बढी रकम प्राप्त गरिसकेछन् । देशभर एनआइसी एसिया बैंकका ३२६ शाखा, ४६४ एटिएम, १०१ एक्स्टेन्सन काउन्टर र ६१ वटा शाखारहित बैंकिङ इकाइ छन् ।
प्रकाशित समय १६:४० बजे

















