गृहपृष्ठ कर्णालीमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै, सबैभन्दा बढी मुख्यमन्त्रीको जिल्लामा

कर्णालीमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै, सबैभन्दा बढी मुख्यमन्त्रीको जिल्लामा

प्रदेश सरकारद्वारा उत्पादन अभियान सुरू

कर्णाली प्रदेशमा करिब ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै छ । प्रदेशका दशवटै जिल्लामा गरी ८२ हजार ४ सय ५९ हेक्टर जमिन बाँझै रहेको हो । प्रदेशभरको जम्मा खेतीयोग्य जमिन २ लाख ९९ हजार ३ सय ३९ हेक्टरमध्ये २ लाख १६ हजार ८ सय ८० हेक्टरमा मात्रै खेती गरिएको छ ।

जिल्लागत तथ्यांक हेर्दा सबैभन्दा बढी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लामा सबैभन्दा बढी जमिन बाँझै रहेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार मुख्यमन्त्री शाहीको जिल्ला कालिकोटको कुल क्षेत्रफल १ लाख ६४ हजार १ सय ३० हेक्टरमध्ये १७ हजार ९ सय ८४ हेक्टर जमिन खेतियोग्य छ । यसमध्ये ८ हजार ७ सय ५० हेक्टर जमिनमा खेती गरिए पनि ९ हजार २ सय ३४ हेक्टर जमिन बाँझै रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मुख्यमन्त्री शाहीको जिल्लामा खेतीयोग्य जमिनभन्दा पनि बाँझो जमिन बढी रहेको पाइएको छ ।

मन्त्रालयका अनुसार सुर्खेत जिल्लाको कुल क्षेत्रफल २ लाख ४८ हजार ८ सय ६३ हेक्टरमध्ये ५५ हजार २ सय हेक्टर जमिन खेतीयोग्य रहे पनि ३७ हजार ४ सय ४४ हेक्टरमा खेती गरिएको छ र १७ हजार ७ सय ५६ हेक्टर जमिन भने बाँझै छ ।

त्यस्तै रुकुमपश्चिममा १ लाख २१ हजार ३ सय ४९ हेक्टर जम्मा जमिनको क्षेत्रफल रहेकोमा ३५ हजार ३ सय ६० हेक्टर जमिन खेतियोग्य छ । जसमध्ये २५ हजार १ सय २६ हेक्टर जमिनमा खेती गरिएको छ भने १० हजार २ सय ३४ हेक्टर जमिन बाँझो रहेको छ । सल्यानमा १ लाख ९३ हजार ७ सय ५२ हेक्टर कुल जमिन रहेकोमा ४५ हजार ५ सय ४६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३८ हजार ९ सय ३९ हेक्टर जमिनमा खेती गरिए पनि ६ हजार ६ सय १७ हेक्टर जमिन बाँझो छ ।

दैलेखमा १ लाख ४८ हजार ५ सय ५७ हेक्टर जम्मा जमिन भएकोमा खेतीयोग्य भने ४३ हजार १ सय २१ हेक्टर जमिन रहेको छ । जसमध्ये ३४ हजार ४ सय ९७ हेक्टर जमिनमा खेती गरिएको छ भने ८ हजार ६ सय २४ हेक्टर जमिन बाँझै रहेको मन्त्रालयको तथ्यांक छ ।

जाजरकोटमा जम्मा जमिनको क्षेत्रफल २ लाख २२ हजार ३ सय ३५ हेक्टर रहेकोमा २५ हजार ३ सय ८४ हेक्टर जमिन खेतीयोग्य रहेको छ । जसमध्ये जिल्लामा १६ हजार ६ सय ९८ हेक्टरमा खेती गरिएको छ भने ८ हजार ६ सय ८६ हेक्टर जमिन बाँझै छ । डोल्पामा २ लाख ४६ हजार ८९ हेक्टर जम्मा जमिनमध्ये ९ हजार ३ सय हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये ६ हजार ५ सय ६० हेक्टरमा खेती गरिएको छ २ हजार ७ सय ४० हेक्टर जमिन बाँझै छ ।

त्यस्तै जुम्लामा २ लाख ५५ हजार ५ सय १५ हेक्टर जम्मा जमिनमध्ये खेतीयोग्य भने ३९ हजार ४ सय ८६ हेक्टर जमिन रहेको छ । जसमध्ये जिल्लामा २५ हजार ४ सय ३५ हेक्टर जमिनमा खेती गरिएको छ भने १४ हजार ५१ हेक्टर जमिन बाँझै रहेको छ ।

हुम्लामा ६ लाख १ हजार २ सय ३५ हेक्टर जम्मा जमिनमध्ये ८ हजार ६ सय १८ हेक्टर जमिन खेतीयोग्य रहेको छ । जसमध्ये जिल्लामा ५ हजार २० हेक्टर जमिनमा खेती गरिएको छ भने ३ हजार ५ सय ९८ हेक्टर जमिन बाँझै रहेको छ । मुगुमा ३ लाख २३ हजार ४ सय ५० हेक्टर जम्मा जमिनमध्ये १९ हजार ३ सय ४० हेक्टर जमिन खेतीयोग्य छ भने १८ हजार ४ सय २१ हेक्टर जमिनमा खेती गरिएकोमा ९ सय १९ हेक्टर मात्रै जमिन बाँझै रहेको मन्त्रायको तथ्यांक छ ।

अन्य जिल्लाको तुलनामा मुगुमा कुल खेतीयोग्य जमिनको सबैभन्दा कम जमिन बाँझो रहेको मन्त्रालयको तथ्यांक छ । प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा परिचित बनाउने भने पनि खेतीयोग्य जमिनको सदुपयोग गर्न सकेको छैन । कृषिमा बर्सेनि प्रशस्त बजेट विनियोजन गरिए पनि कर्णालीमा नत उत्पादन नै बढ्न सकेको छ नत बाँझो जमिनमा खेती नै गरिएको छ ।

युवा शक्ति सबै विदेशिने र श्रमशक्ति कर्णालीमा नबस्नाले जमिन बाँझै रहने गरेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसीको भनाइ छ । उनका अनुसार कर्णालीमा खेतीयोग्य जमिनको १८ प्रतिशत जमिन बाँझो छ । ‘लकडाउनको अवसरमा धेरै युवाजनशक्ति आफ्नो प्रदेश भित्रिएको छ,’ उनले भनिन्, ‘यो बाँझो जमिन खनजोत गरी उत्पादन बढाउने सुनौलो अवसर हो । यसैअनुरुप मन्त्रालयले गत जेठ १ देखि ‘बाँझो जमिन नछोडौं सक्नेलाई खेती गर्न दिऔ’ भन्ने मूल नाराका साथ उत्पादन अभियान सञ्चालन गरेको छ ।’

कर्णालीको बाँझो जमिनबाट उत्पादन गरी निर्यात गर्न नसके पनि आयात गरेर खान नपर्ने वातावरणको सिर्जना हुन सके प्रदेशलाई नै फाइदा हुने उनले बताइन् । आर्थिक वर्ष २०७७/७८ का लागि बाँझो जमिनमा खेती गर्नका लागि मात्रै १४ करोड बजेट विनियोजन भएको उनले जानकारी दिइन् । युवालाई उत्पादनमा जोड्ने र मल, बिउ, बेर्ना लगायतका सामग्री दिनको लागि कर्णालीका सबै स्थानीय तहलाई १७ लाख २५ हजार ५ सयका दरले रकम वितरण गरेको उनले बताइन् । ‘विश्वमा कोरोनाका कारण भोकमरी पनि पर्न सक्छ । हामी आयात गरेर खाने प्रदेशका नागरिकहरु कृषिमा मात्रै आन्मनिर्भर बन्न सके भोकले कोही मर्दैन,’ उनले भनिन् ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु