गृहपृष्ठ यस वर्षको ‘असार १५’ मा दही खपत घट्यो

यस वर्षको ‘असार १५’ मा दही खपत घट्यो

दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते साढे पाँच करोडको दही विक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) बाट  पाँच करोड ४६ लाख ६० हजारको दही विक्री भएको जनाइएको छ ।

निजी क्षेत्रका दूग्ध व्यवसायको संस्था नेपाल डेरी एशोसिएशनबाट देशैभर चार लाख तीस हजार लिटर दही विक्री भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार लकडाउनका कारण गत वर्षको तुलनामा दहीको खपतमा कमी आए तापनि तीन गुणा बढी खपत भएको छ । ‘गत वर्ष असार पन्ध्रका दिन मागअनुसारको दही पुर्‍याउन एक सातादेखि मौज्दात राख्नुपर्थ्यो तर लकडाउनका कारण यसपालि धेरै माग नभएको र मागअनुसार खपतमा सहज भयो,’ उनले भने ।

१० प्रतिशतले कमी

गत वर्षको तुलनामा यस वर्ष डीडीसीको दही खपतमा १० प्रतिशतले कमी आएको छ । सबैभन्दा धेरै दही काठमाडौँ उपत्यकामा खपत हुँदै आएकामा लकडाउनपछि उपत्यका छाड्नेहरु वृद्धि हुँदा खपतमा कमी आएको डीडीसीले जनाएको छ ।

डीडीसीका महानिर्देशक रुद्रप्रसाद पौडेलका अनुसार यस वर्ष काठमाडौँ उपत्यकामा तीस हजार लिटर र बाहिर चालीस हजार लिटर गरी ७० हजार लिटर दही विक्री भएको छ । अन्य समयमा साँझ ५ बजेसम्म खुल्ने विक्री केन्द्र उपभोक्तालाई ध्यानमा राख्दै साँझ ७ बजेसम्म खुला गरिएको उनले जानकारी दिए । गत वर्ष निजी र सरकारी दुवैबाट असार १५ को दिन सात हजार लिटर दही विक्री भएको थियो ।

प्रकाशित समय १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु