गृहपृष्ठ साढे ५ लाखले गरे कोरोना बिमा

साढे ५ लाखले गरे कोरोना बिमा

कोरोना बिमा सुरु भएको तीन महिनामा करिब साढे ५ लाख जनाले बिमा गराएका छन् । सबै २० वटा निर्जीवन बिमा कम्पनीबाट शुक्रबारसम्ममा ५ लाख ४० हजार ८६७ जनाले कोरोना बिमा गराएका हुन् ।

अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमारबहादुर क्षेत्रीका अनुसार करिब साढे ५ लाखले कोरोना बिमा गर्दा ५२ हजार १५२ वटा बिमालेख जारी भएका छन् । ‘कुल प्रिमियम ३० करोड २९ लाख ४८ हजार ८४९ रूपैयाँ संकलन भएको छ,’ उनले भने, ‘पाँचवटा दाबीबापत ४ लाख ५० हजार भुक्तानी भइसकेको छ । त्यस्तै सात जनाको स्टिमेट परेको छ भने भुक्तानी बाँकी छ ।

यसअघि सुरू भएको केही दिनपछि धेरैमा कोभिड १९ संक्रमण देखिएसँग् बिमा समितिकै निर्देशनमा कोरोना बिमा बन्द गरिएको थियो । दायित्व बढ्ने अवस्था आएपछि कम्पनीहरूसँगै बिमा गर्नबाट तर्किए, जसमा समितिले साथ दियो । तर, सरकारले जोखिम वहनमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि कोरोना बिमा पुनः सुरु गर्न बिमा समितिले निर्देशन दिएको थियो ।

कोरोना बिमा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश भएको कार्यक्रम हो । कोरोना बिमामा सर्वसाधारणको आकर्षण निकै धेरै देखिएको छ । बिमा समितिले पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँबराबरको र एक हजार रुपैयाँमा एक लाख रुपैयाँबराबरको कोरोना बिमा गर्न सकिने व्यवस्था गरेको छ । परिवारकै बिमा गर्दा ५० हजार रुपैयाँका लागि तीन सय रुपैयाँ र एक लाख रुपैयाँका लागि ६ सय रुपैयाँ तिर्नुपर्नेछ । बिमाको अवधि एक वर्ष हुनेछ ।

बिमितले बिमा गरेको १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएमा बिमांकअनुसारको दाबी भुक्तानी पाउनेछन् ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु