गृहपृष्ठ ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता : स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति

ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता : स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति

प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका थप प्रष्ट पार्ने ओलीको प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको ‘वान टु वान’ वार्तामा आपसी छलफल कायम राख्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा गतिरोध अन्त्यका विषयमा दुई अध्यक्षले मंगलबार बिहान ११ बजेदेखि करिब ३ घण्टा छलफल गरेका छन् ।

अहिलेसम्म जारी विवाद अन्त्यका लागि सहमतितर्फ ठोस प्रगति भने भइ नसकेको बालुवाटार स्रोतले जनाएको छ ।  २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका थप प्रष्ट पार्ने ओलीको प्रस्ताव छ ।

अध्यक्षद्वयबीचको भेटवार्तापछि अब भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक निर्धारित समयमै बस्ने भएको छ । बैठकमै बाँकी विषयमा छलफल गर्न दुवै अध्यक्ष सहमत भएका छन् । बैठकअघि फेरि पनि अध्यक्षद्वय थप छलफल गर्नेछन् । आन्तरिक विवाद चर्किएपछि अध्यक्षद्वय निरन्तर छलफलमा छन् ।

अध्यक्षद्वयबीचको छलफलअघि नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग छलफल गरेका थिए । प्रचण्डसँग खुमलटार र ओलीसँग बालुवाटारमा उनले सहमतिका एजेण्डाका विषयमा छलफल गरेका स्रोतले जनाएको छ ।

मदन जयन्तीको दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र काठमाडौंबाटै चलखेल भइरहेको आरोप लगाएका थिए । त्यसपछि स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर अ‍ोलीले दुवै पदबाट राजीनामा नदिने बरू हरेक चुनाैतीको सामना गर्ने बताइसकेका छन् ।

प्रकाशित समय १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु