गृहपृष्ठ ब्रोकरको गम्भीर आरोप‑ बैंकलाई ब्रोकर लाइसेन्स दिँदा सूचना बेचिन्छ

ब्रोकरको गम्भीर आरोप‑ बैंकलाई ब्रोकर लाइसेन्स दिँदा सूचना बेचिन्छ

नेपाल ब्रोकर एसोसिएसनले वाणिज्य बैंकलाई सहायक कम्पनी खोलेर धितोपत्र दलाल व्यवसाय गर्न दिँदा सूचना बेचिने गम्भीर आरोप लगाएको छ । पुँजीबजार तथा मुद्राबजारसम्बन्धी अध्ययन उपसमितिसँगको छलफलका क्रममा एसोसिएसनले धितोपत्रको दोस्रो बजारमा जोखिम धेरै भएकाले अनुभव नभएका वाणिज्य बैंकलाई धितोपत्र दलाल व्यवसाय गर्न दिँदा जोखिम बढ्ने र सूचना बेचिने आरोप लगाएका हुन् ।

नेपाल बैंकर संघले भने पारदर्शिता र नीतिनियमको पालनामा बैंकिङ क्षेत्र सबैभन्दा अगाडि रहेकाले बैंकमा हुने गरेका अन्य कारोबारसरह धितोपत्र कारोबारसम्बन्धी कुनै पनि सूचना तथा विवरणहरु गोप्य रहने र धितोपत्र कारोबार भए पनि नभए पनि कर्मचारीलाई व्यक्तिगत लाभ नहुने भएकाले सुशासनमा बढी विश्वस्त हुन सकिने साथै बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन रहेकाले इन्साडर ट्रेडिङ नहुने बताएका छन् ।

त्यस्तै बैंकहरूले इथिकल इस्ट्यान्डर्ड मिट नगर्ने ब्रोकर एसोसिएसनको आरोप छ । बैंकर एसोसिएसनले भने अन्तर्राष्ट्रिय रुपमा गरिने क्यामेल्स रेटिङमा पनि दक्षिण एसियामै नेपालका बैंक अग्र स्थानामा रहेको र मुलुकको अर्थतन्त्रमा बैंकिङ क्षेत्रको भूमिका र डुइङ बिजनेस इन्डेक्समा वित्तीय क्षेत्रको र्‍याङकिङलाई हेर्दा बैंकहरुको स्तर निकै माथि रहेको बताएको छ ।

यस्ता छन् आरोप ?

१. बैंकहरूमा सूचना कारोबार हुने ठाउँ र सूचना पहुँच हुने ठाउँ एउटै हुने भएकाले सूचना बेचिने र जनताको पैसा क्षयीकरण हुन्छ । जनता घाटामा जान्छन् ।

२. बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा इनसाइडर ट्रेडिङ बढ्छ ।

३. बैंकले आफ्ना प्रडक्टलाई सेयरसँग टाइअप गर्ने र डिपोजिटलाई सेयरमा डाइभर्ट गर्न सक्छन् ।

४. बैंकहरूले धितोपत्र दलालको इथिकल स्ट्यान्डर्ड मिट गर्दैनन् ।

५. बैंकसँग ब्रोकर चलाउन अनुभव र जनशक्ति दुवै छैन ।

६. बैंक सञ्चालकले अवैध रूपमा आर्जित सम्पत्ति बैंकमार्फत छिराएर आफू नियन्त्रित सहायक कम्पनीबाट सेयरमा लगानी गरेर शुद्धीकरण गर्छन् ।

७. बैंकहरूमा कर्पोरेट कल्चर छैन । निश्चित समूह र घरानाबाट सञ्चालित छन् । व्यापारी, व्यवसायी, उद्यमी बैंकर एउटै छन् ।

८. बंगलादेशमा बैंकहरूलाई ब्रोकर लाइसेन्स दिएपछि साना लगानीकर्ताले आत्महत्या गर्ने तथा पारिवारिक बिच्छेद हुनेसम्मका अवस्था आएपछि हटाइएको ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूको संस्था बैंकर एसोसिएसनले भने देशभरका ७४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना भइसकेकाले बैंकहरुलाई धितोपत्रको ब्रोकर लाइसेन्स प्राप्त भएमा दूरदजारमा रहेका प्रत्येक नागरिकले सहज र सुलभ रुपमा धितोपत्र कारोबार गर्न सक्ने, बैंकमा दक्ष कर्मचारी रहेकाले ग्राहकलाई आवश्यक सूचना तथा जोखिमका बारेमा सही जानकारी दिन सक्ने, बैंकहरुले धितोपत्र ब्रोकरका रुपमा काम गर्दै आएको अन्तर्राष्ट्रिय अभ्यास रहेको र वाणिज्य बैंकमा कर्मचारी पर्याप्त रहेकाले धितोपत्र कारोबार सेवा थप गर्दा कुनै पनि भार नपर्ने र भएका जनशक्ति र व्यवस्थापनबाटै तत्काल यो सुविधा स्थानीय तहसम्म पुर्‍याउन सकिने दलिल पेस गरेका थिए ।

सांसद रामकुमारी झाँक्री संयोजक रहेको उपसमितिले भने बैंकलाई ब्रोकर लाइसेन्स दिने सकिने प्रतिवेदन तयार गरी अर्थ समितिमा बुझाइसकेको छ ।

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु