गृहपृष्ठ सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षीको विरोधकै बीच बजेट पारित
सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षीको विरोधकै बीच बजेट पारित
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट प्रतिपक्षी दलको नाराबाजीका बीच पारित भएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले प्रदेश सभामा प्रस्तुत गरेको ३३ अर्ब ३८ करोड १३ लाखको बजेट प्रतिपक्षीको नाराबाजीका बीच पनि बहुमतले पारित भएको हो । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले भने सरकारका विरुद्ध रोष्टममा नाराबाजी गरिरहेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट बिपक्षी दलको नाराबाजीकै बीच २४ गते पारित गरेको छ । असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच नै आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरिएको थियो ।
प्रतिपक्षी दलले भने प्रदेशमा कोभिड–१९ को संक्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गर्दै बजेट पेश भएदेखि नै सभामा अवरोध सिर्जना गर्दै आएका थिए । सभामुखले प्रतिपक्षी दलले सभामा अवरोध कायमै राख्ने देखेपछि पेलेरै बजेट माथिको छलफल अगाडी बढाएका थिए । बजेट पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।
बजेट पारितअघि आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठकमा उठेका जिज्ञासाबारे प्रष्टयाएका थिए । नेकपाका बैठकमा प्रदेशसभा सदस्य महेशदत्त जोशीले धारणा व्यक्त गरेका थिए । प्रदेशसभा सदस्य जोशीले छलफल अवरूद्ध गर्न नहुने सुझाव दिए । उनले बजेटमा मानवीय, प्राविधिक र छपाइमा पनि त्रुटि भएको तर, सरकारले सच्याउने बाचा गरेको बताएका छन् ।
प्रतिपक्षी दलहरूले कोरोनाको पीसीआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेटिन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने, कोरोना रोकथामाको लागि गरिएको खर्च सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सार्दै संसदमा अवरोध गर्दै आएको हो ।
सरकारले प्रतिपक्षी दलका माग नसमेटेर एकलौटी ढंगले बजेट पास गरेको भन्दै प्रतिपक्षी दलले आपत्ति जनाएको छ । जनताको मर्म विपरित काम गरेको सरकारले प्रदेशसभामा समेत अधिनायकवाद प्रष्ट देखाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बताए ।
जनताको मागलाई सम्बोधन गर्न आग्रह गर्दै प्रतिपक्षी दलले संसद अवरुद्ध गरिरहे पनि सरकार संविधान विपरित ढंगले अगाडी बढ्न खोजेको प्रतिपक्षीको आरोप छ । जनमतको कदर नगरी सरकारले एकलौटी रुपमा अगाडी बढे दुर्घटना निम्तिने प्रतिपक्षी दलको चेतावनी छ ।
प्रकाशित समय ११:०४ बजे

















