गृहपृष्ठ अनुमानभन्दा बढी भित्रियो रेमिट्यान्स, संकटमा पनि नेपालीले घर पठाए पैसा

अनुमानभन्दा बढी भित्रियो रेमिट्यान्स, संकटमा पनि नेपालीले घर पठाए पैसा

Remittance_NewsKarobar

संकटका बेला पनि नेपालीले पैसा घर पठाएका छन् । कोरोनाभाइरस संक्रमणका कारण रोजगारीका लागि विभिन्न देश पुगेका नेपालीले विपदको समयमा पनि परिवारलाई पैसा पठाएका हुन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ३ प्रतिशतले मात्र घटेको छ । चालू आवको ११ महिनामा ७ खर्ब ७४ अर्ब ८७ करोड रेमिट्यान्स आएको छ । गत आवको जेठसम्ममा ७ खर्ब ९९ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको थियो ।

अन्तर्राष्ट्रिय सहयोग साझेदार संस्थाहरू विश्व बैंक र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) को अध्ययन प्रतिवेदनले चालू वर्ष १४ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स घट्ने देखाएको थियो । विश्व बैंकले कोरोनाभाइरसबाट हुने कोभिड १९ का कारण सन् २०२० मा रेमिट्यान्स आप्रवाहमा १४ प्रतिशतभन्दा बढी गिरावट आउने बताएको थियो ।

विदेशमा धेरै नेपालीको रोजगारी गुमेको र नेपाल फर्किन चाहनेको संख्या पनि बढेकाले रेमिट्यान्स उच्च घट्ने विश्व बैंकको अनुमान थियो । त्यस्तै यूएनडिपीको अध्ययनले ठूलो परिमाणमा रेमिट्यान्समा गिरावट आउनले देखाएको थियो । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक दुवै संस्थाको अनुमानविपरीत छ ।

जेठसम्ममा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने १२.४ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३५.७ प्रतिशतले घटेको थियो । तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको सोही अवधिमा ५.४ प्रतिशतले बढेको थियो ।

कोरोनाका कारण विश्व महामन्दीमा फसेको छ । बेरोजगारी बढेको छ । उद्योग व्यवसाय लथालिंग छन् । पर्यटन क्षेत्र शून्य छ । आम्दानी छैन, खर्च मात्र छ । सबै संकटमा छ तर अप्रत्यासित ढंगको रेमिट्यान्स आप्रवाहले विदेशमा रहेका नेपालीले खाइनखाई परिवारलाई पैसा पठाएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

प्रकाशित समय २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु