गृहपृष्ठ झन्डै दुई खर्ब रूपैयाँको कृषिजन्य वस्तु आयात
झन्डै दुई खर्ब रूपैयाँको कृषिजन्य वस्तु आयात
बाह्य व्यापार १५ प्रतिशतले घट्यो
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीबाट बच्न सरकारले चैतदेखि लगाएको लकडाउनका कारण नेपालको वैदेशिक व्यापारमा झन्डै १५ प्रतिशतले कमी आएको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक विवरणअनुसार नेपालको आयात व्यापार १५.६३ प्रतिशतले घट्यो भने निर्यात व्यापारमा पनि करिब १ प्रतिशतले कमी आयो ।
गत आर्थिक वर्षभरिमा नेपालले ११ खर्ब ९६ अर्ब रूपैयाँबराबरको वस्तु आयात गरेको छ । यसमध्ये २ खर्ब १अर्ब ७८ करोड कृषिजन्य वस्तुमात्र आयात गरेको छ ।
नेपालले विदेशबाट धान, मकै, कोदो, गहुँदेखि जुनेलोसम्मका अन्न आयात गर्छ ।गत वर्ष नेपालले ५६ अर्ब ८८ करोड रूपैयाँबराबरको अन्न आयात गर्दा यहाँबाट जम्मा १ करोड ७० लाख रूपैयाँको मात्र अन्न निर्यात गरेको छ । यसमध्ये ३३ अर्ब ६५ करोड रूपैयाँको धान-चामल आयात भएकत्त भन्सार विभागको तथ्यांकले देखाएको छ ।
नेपालले भारत, चीन, जापान, अमेरिका, बंगलादेशलगायतका देशबाट चामल आयात गर्दै आएको छ । नेपालले धान, चामलदेखि कनिका समेत आयात गर्छ ।
कृषिप्रधान देश नेपालले गत आर्थिक वर्षमा ३३ अर्ब ५ करोड रूपैयाँको तरकारी र २० अर्ब ७४ करोड रूपैयाँको फलफूल आयात गर्यो भने ९५ करोड ५७ लाख रूपैयाँको जीवजन्तु र ६ करोड रूपैयाँको मासु आयात गर्यो ।
गत आर्थिक वर्षभरिमा नेपालले कुल ९६ अर्ब १५ करोड रूपैयाँको वस्तु निर्यात गर्दा यसको एक तिहाइ हिस्सा पाम तेल र सोयाबिन तेल ले ओगटेको छ । यो दुवै नेपालको आफ्नो उत्पादन भने होइन ।
विगत दुई वर्षयता पाम तेल नेपालबाट विशेषगरी भारतमा निर्यात गर्नेक क्रम बढेको हो । गत आर्थिक वर्षमा नेपालबाट १६ अर्ब ९९ करोड ८१ लाख रुपैयाँको प्रशोधित पाम तेल र २६ करोड ७६ लाख रूपैयाँको कच्चा पाम नेपालबाट भारततर्फ निर्यात भएको छ ।
यसैगरी, ९ अर्ब १७ करोड रूपैयाँको सोयाबिन तेल र २१ करोड ६६ लाख रूपैयाँको कच्चा सोयाबिन तेल नेपालबाट निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
प्रकाशित समय १८:२० बजे

















