गृहपृष्ठ प्रतिकूल अवस्थामा पनि बढ्यो एनआइसी एसिया बैंकको नाफा
प्रतिकूल अवस्थामा पनि बढ्यो एनआइसी एसिया बैंकको नाफा
कोभिड १९ महामारीको प्रतिकूल परिस्थितिमा पनि एनआइसी एसियाको खुद नाफा ३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ९ करोड ८ लाखले बढेर ३ अर्ब १२ करोड भएको छ ।
अघिल्लो आव २०७५/७६ को सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब २ करोड रुपैयाँ थियो । बैंकको स्वपुँजीमा प्रतिफल १९.४१ प्रतिशत छ, जुन समग्र वाणिज्य बैंकहरूमध्येकै बढी रहेको एनआईसी एसियाका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।
आव २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.५ प्रतिशत छ भने चौथो त्रैमाससम्ममा कर्जातर्फ २३ अर्ब वृद्धि गरी कुल कर्जा रकम १ खर्ब ७४ अर्ब पुगेको छ, जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.५९ प्रतिशत हो ।
समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा ११.७० प्रतिशत (करिब ३ खर्ब ३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजनपश्चात) ले कर्जा वृद्धि भएकोमा एनआइसी एसियाले १६ प्रतिशत (२३ अर्ब) ले कर्जा वृद्धि गरेको छ, जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिमध्येकै उच्च वृद्धि हो ।
बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत छ भने चौथो त्रैमाससम्ममा ३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ११ अर्ब पुर्याएको छ । यो पनि वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा भएको कुल वृद्धिको ७.९६ प्रतिशत हो । साथै समग्र वाणिज्य बैंकहरूमा गत वर्षमा १६.५ प्रतिशत (करिब ४ खर्ब ७७ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजनपश्चात) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यो बैंकले २२.५ प्रतिशत (३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १२ पैसा छ ।
बैंकले आफ्नो रणनीतिअनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोही रणनीतिअनुरूप गत वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६.०८ प्रतिशत कर्जा साना रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । सो रणनीतिको परिणामस्वरूप बैंकको प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ५ प्रतिशतभन्दा कम छ, जुन समग्र बैंकिङ क्षेत्रकै उत्कृष्ट र अत्यन्त न्यून जोखिम भएको मध्येमा पर्ने नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।
गत वर्ष बैंकले चल्ती तथा बचत निक्षेप (सिआस्वा)तर्फ २२ अर्ब १२ करोडले वृद्धि गरी सिआस्वा मिश्रणको प्रतिशत ४५.१७ पुर्याउन सफल भएको छ, जुन समग्र वाणिज्य बैंकहरूको औसत करिब ४२ प्रतिशतको तुलनामा ३.१७ प्रतिशत विन्दुले बढी हो ।
बैंकले निक्षेपतर्फ पनि साना-साना निक्षेप एवं व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको छ । जसको परिणाम स्वरूप प्रमुख १० निक्षेककर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केवल १० प्रतिशतमात्रै छ । त्यसैगरी बैंकको कल निक्षेपको अंश हाल कुल निक्षेपको ९.६ प्रतिशत छ ।
बैंकले दीर्घकालीन रणनीतिअनुरूप ग्राहक संख्यामा विस्तार गर्ने र डिजिटल फस्ट बैंक बन्ने लक्ष्यलाई मुर्त रूप दिँदै गत वर्ष ४ लाख ८४ हजार नयाँ ग्राहक थपेको छ । हाल देशभर बैंकका कुल ग्राहक २२ लाखभन्दा बढी छन् । गत वर्ष बैंकले डिजिटल बैंकिङतर्फ पनि उल्लेख्य उपलब्धि हासिल गरेको छ । बैंकले गत आवमा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशतसहित कुल ८ लाख ६६ हजार पुर्याएको छ ।
त्यस्तै मोबाइल बैंकिङमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशतसहित १२ लाख १ हजार पुर्याएको छ । इन्टरनेट बैंकिङतर्फ पनि १२ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशतसहित कुल १ लाख १२ हजार प्रयोगकर्ता पुर्याउन बैंक सफल भएको छ । बैंकले १५ हजारभन्दा बढी क्युआर मर्चेन्ट र करिब ४ हजार पिओएस मर्चेन्टमार्फत ग्राहकलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
एनआइसी एसियाले राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटबाहेक २०७७ को वैशाख र जेठसम्ममा तिर्नुपर्ने ब्याज सम्बन्धित मसान्तभित्र चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ग्राहकसमक्ष ल्याएको थियो । त्यस्तै २०७७ असारमा समेत राष्ट्र बैंकद्वारा व्यवस्था गरिएको उक्त २ प्रतिशत ब्याज छुटबाहेक यस बैंकबाट कर्जा सुविधा लिएका सबै ग्राहकले सोही मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ असारभित्र चुक्ता भुक्तान गरकोमा साउन १ देखि लागू हुने गरी उक्त कर्जाको तत्कालीन ब्याजदर ९.९९ प्रतिशत कायम गरेको छ ।
प्रकाशित समय १४:०९ बजे

















