गृहपृष्ठ प्रधानमन्त्री-देउवा भेट : कांग्रेसले गरायो ३ विषयमा सरकारको ध्यानाकर्षण

प्रधानमन्त्री-देउवा भेट : कांग्रेसले गरायो ३ विषयमा सरकारको ध्यानाकर्षण

फाइल तस्बिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटको क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई विभिन्न तीन सुझाव दिएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा देउवाले जरुरी महत्वका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

१, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँवासीले दश दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

देशको अन्य विभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति गरेको छ । सरकारको भूमिका सन्तोषजनक देखिएन । व्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।

२, कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीव्र गतिमा बिस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?

३, त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमताभन्दा राजनैतिक पूर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनसनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवादसमेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।

सभापति देउवाले यी सबै विषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह र नेपाली कांग्रेसको तर्फबाट माग गरेको कांग्रेस केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाका साथमा केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए ।

प्रकाशित समय १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु