गृहपृष्ठ कुसे औंसीको अवसरमा टेलिकमले ल्यायो ‘ह्याप्पी लर्निङ प्याक’ कार्यान्वयन

कुसे औंसीको अवसरमा टेलिकमले ल्यायो ‘ह्याप्पी लर्निङ प्याक’ कार्यान्वयन

nepal-telecom-newskarobar

कोरोना भाइरस महामारीको कारणले आफ्ना सन्ततिहरुको पठनपाठनका लागि चिन्तित रहेका अभिभावकहरुका सन्ततिको पठनपाठनमा उपयुक्त हुने ह्याप्पी लर्निङ प्याक (Happy Learning Pack) नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरमा कार्यान्वयनमा ल्याएको छ ।

निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिनेछ । सो प्याकेजअन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ ।

सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने छ ।

विद्यार्थी अफर अन्तर्गत *1600# मा डायल गरी सिम रजिष्ट्रेसन गर्नुभएका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *1441# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नुहुनेछ ।

नेपाल टेलिकमले उपलब्ध गराएका यी प्याकेजहरुबाट कोरोना महामारीको असहज परिस्थितिमा पनि अनलाइनबाट पठनपाठन गर्न/गराउन विद्यार्थी, अभिभावक तथा शिक्षक वर्गलाई थप सहज र मितव्ययी हुने अपेक्षा गरिएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु