गृहपृष्ठ कांग्रेसको चेतावनी‑ प्रेस काउन्सिललाई गुटगत प्रचार टोकरी नबनाऊ

कांग्रेसको चेतावनी‑ प्रेस काउन्सिललाई गुटगत प्रचार टोकरी नबनाऊ

bishwa-prakash-newskarobar

नेपाली कांग्रेसले प्रेस काउन्सिललाई गुटगत टोकरी बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको भन्दै कांग्रेसले विमति जनाएको हो ।

विवादास्पद मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस काउन्सिलको औचित्य र अस्तित्वलाई नामेट गराउने दुस्प्रयास गरिएको विगत सम्झाउँदै कांग्रेसले हाल प्रेस काउन्सिललाई नेकपाको, त्यहाँ भित्र प्रधानमन्त्रीनिकट गुटको र अझ त्यहाँ पनि केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदम भएको स्पष्ट पारेको छ । ‘काउन्सिलको जिम्मेवारीमा को व्यक्ति थिए, छन् या ल्याइएका छन् हाम्रो चासो त्यसमा होइन, प्रश्न व्यक्तिको होइन विधिको हो l प्रश्न नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको पनि दबाब मुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबारे विगतमा कुनै कमजोरी भएका थिए भने पनि त्यसलाई नजिरका रूपमा लिएर दोहोर्‍याउने होइन, सच्याएर काउन्सिललाई राजनीतिक आग्रह मुक्त स्वतन्त्र प्रेसको उच्च गरिमा राख्ने थलोका रुपमा परिष्कृत र विकसित गर्नु आजको समयको माग र आवश्यकता हो l’

तर सरकारले नियन्त्रित प्रेसको बाटोमा शृंखलाबद्ध ढंगले गरिरहेको कार्यलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन एवं अन्य सरोकारवाला संस्थासँग संवाद र सहमतिबिना गरिएका  र गरिने कुनै पनि कदममा प्रमुख प्रतिपक्षी दलको समर्थन नरहने चेतावनी कांग्रेसले दिएको छ ।

प्रकाशित समय १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु