गृहपृष्ठ विश्व अर्थतन्त्रको एक तिहाई हिस्सा ओगट्ने चार देशमा ५७ प्रतिशत मानिस संक्रमित

विश्व अर्थतन्त्रको एक तिहाई हिस्सा ओगट्ने चार देशमा ५७ प्रतिशत मानिस संक्रमित

विश्व अर्थतन्त्रको करिब एक तिहाइ हिस्सा ओगट्ने अमेरिका, ब्राजिल, भारत र रुसमा मात्रै कुल संक्रमितको ५७ प्रतिशतभन्दा बढी मानिस संक्रमित भएका छन् । मंगलबार बिहानको तथ्यांकअनुसार यी चार देशमा १ करोड ३६ लाख ७१ हजार मानिस संक्रमित भएका छन्, जुन कुल संक्रमितको ५७.४२ प्रतिशत हो ।

त्यस्तै यी देशमा ३ लाख ७१ हजार ५५९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो पनि कुल मृतकको ४५.४८ प्रतिशत हो ।

लेखा परीक्षण, कर र आर्थिक सल्लाहहरु प्रदान गर्ने व्यावसायिक फर्महरूको विश्वव्यापी नेटवर्क केपिएमजीको अध्ययन प्रतिवेदनअनुसार कोरोनाबाट अमेरिकाका २५, ब्राजिलका १५, भारतका १३ र रुसका ४ प्रतिशत मानिस संक्रमित छन् । बाँकी विश्वभरका संक्रमित मानिस ४३ प्रतिशत छन् ।

त्यस्तै विश्व अर्थतन्त्रको करिब एक तिहाई हिस्सा यी देशले ओगटेका छन् । विश्व अर्थतन्त्रको २४ प्रतिशत अमेरिका, भारत ३ प्रतिशत तथा रुस र ब्राजिलले २‑२ प्रतिशत हिस्सा ओगट्छन् । बाँकी विश्वले ६८ प्रतिशत ओगट्छन् ।

तथ्यांकअनुसार अमेरिका र ब्राजिलमा कोरोना संक्रमित र मृत्यु वृद्धिदर घट्दै गर्दा भारतमा संक्रमित र मृत्युदर उच्च गतिमा बढिरहेको छ । अहिले भारतमा कोरोना संक्रमण वृद्धिदर प्रतिदिन ६२ हजारभन्दा धेरैले बढिरहेकत्र छ । यो संख्या प्रतिदिन विगतमा अमेरिकामा भएझैं ६६ हजार ३ सयभन्दा धेरैले बढ्न थालेमा भारतमा अमेरिकामा भन्दा धेरै मानिस संक्रमित हुनेछन् । अहिले अमेरिका र रुसमा संक्रमण वृद्धिदर सामान्य बन्दै जाँदा भारत र ब्राजिलमा उच्च नै छ ।

यी चार देशको विश्व अर्थतन्त्रमा रहेको प्रभाव र कोरोना संक्रमणको वृद्धिदरको नजिता सारा विश्वले जसरी भोग्छ, भारतमा भएको कोरोना वृद्धिदरको त्योभन्दा गहिरो प्रभाव नेपालमा पर्नेछ । अहिले मात्रै पनि भारतसँग वार्षिक करिब १० खर्बको र चालू आर्थिक वर्षको साउनको मात्र तथ्यांकअनुसार करिब ६३ अर्बको व्यापार गरिरहेको नेपालका लागि भारतमा उच्च दरमा संक्रमण फैलिनुले नेपाल धेरै प्रभावित हुने अर्थशास्त्रीहरू बताउँछन् ।

भारतमा संक्रमण फैलिँदै जाँदा नेपाल यसै पनि जोखिम सूचीमा पर्छ । भारतसँग खुला सीमा रहनु तथा व्यापार ठूलो मात्रामा हुनुले पनि जोखिम उच्च बनेर जानेछ । अहिले पनि भारतमा रहेका नेपाली र नेपालमा कार्यरत भारतीय लुकीछिपी फर्किएपछि नेपालमा कोरोना संक्रमण तीव्रगतिमा फैलिएको सरकारी संस्थाहरूले जनाएका छन् ।

अध्ययनअनुसार विश्वभर हस्पिटालिटी क्षेत्रको बेरोजगारी दर उच्च गतिमा बढ्नेछ । त्यस्तै खुद्रा व्यापार, वित्तीइ क्षेत्रको बेरोजगारी दर सामान्य गतिमा बढ्नेछ भने निर्माण क्षेत्रको बेरोजगारी दर खासै प्रभावित हुने छैन ।

कोभिड १९ ले वित्तीय क्षेत्रको विद्युतीय भुक्तानी र अनलाइन सपिङमा भने सकारात्मक प्रभाव परेको छ । मानिसहरू घरमै बसे विद्युतीय माध्यमबाट भुक्तानी गरेको तथा अनलाइन सपिङमार्फत सामान मगाएको अध्ययनले देखाएको छ ।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु