गृहपृष्ठ नेकपा अध्यक्षद्वयबीच कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु
नेकपा अध्यक्षद्वयबीच कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल सुरु भएको छ ।
प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि छलफल सुरु भएको हो । आजदेखि अध्यक्षद्वयले एजेण्डागत छलफल गर्ने र आवश्यक परिमार्जनपछि प्रतिवेदन सचिवालय बैठकमा प्रस्तुत हुनेछ ।
सचिवालय बैठकमा आवश्यक छलफलपछि स्थायी कमिटी बैठकमा नियमित एजेण्डासँगै कार्यदलको प्रतिवेदनका विषयमा पनि छलफल गर्ने तयारी छ । ओली-प्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्व ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहितको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा ओली सरकार सञ्चालनमा केन्द्रित हुने र प्रचण्डले पार्टी सञ्चालन गर्ने तथा सरकारलाई थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्नसमेत सुझाव दिइएको छ । एकता महाधिवेशन, पार्टी एकतालाई पूर्णता तथा विधानअनुसार पार्टी चलाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित समय ११:३८ बजे
















