गृहपृष्ठ मर्चेन्ट बैंकरले आईपीओको रिजल्ट हेर्ने क्याटेगोरी नै वेबसाइटबाट हटाए

मर्चेन्ट बैंकरले आईपीओको रिजल्ट हेर्ने क्याटेगोरी नै वेबसाइटबाट हटाए

निजी कम्पनीलाई धमाधम लगानीकर्ताको डिम्याट अकाउन्ट बाँडिरहेका मर्चेन्ट बैंकरहरूले आफ्नो वेबसाइटबाट सर्वसाधारण सेयर (आईपीओ) को को नतिजा हेर्ने क्याटेगोरी नै हटाएका छन् । कतिपयले दबाबमा त कतिपयले साँठगाँठमा निजी कम्पनीलाई डिम्याट अकाउन्ट बाँडिरहेकोमा अहिले भने आफ्नो वेब पोर्टलबाट क्याटेगोरी नै हटाएका हुन् ।

विगतमा मर्चेन्ट बैंकरको वेबसाइटमै आईपीओको नतिजा हेर्ने व्यवस्था थियो । अहिले ५०औं समाचार साइटहरूलाई लगानीकर्ताको डिम्याट अकाउन्ट बाँड्न थालेपछि उनीहरूले वेबसाइटबाट क्याटेगोरी नै हटाएका हुन् ।

एनआईबीएल एस क्यापिटलका कम्प्लायन्स हेड रामकुमार महत सबै थाहा पाएर पनि आफूहरू डिम्याट अकाउन्ट दिन बाध्य भएको बताउँछन् । ‘बाँडफाँड भयो भनेपछि ५०औं समाचार साइटहरूले कल गरेर डेटा माग्छन्,’ उनले भने, ‘सूचनाको हक भन्दै मागेपछि कसरी नदिने तपाईं नै भन्नुस् ?’ तर, लगानीकर्ताको व्यक्तिगत विवरणमा ‘सूचनाको हक’ होइन, गोपनीयताको हक लागू हुन्छ ।

नियामक निकायले सर्कुलर गरे सहज हुने बताउँछन् । ‘विगतमा अरु धेरै मर्चेन्ट बैंकरहरूले लगानीकर्ताले सबै डेटा दिए पनि हामी परेको रिजल्ट र डिम्याट अकाउन्ट मात्र दिन्थ्यौं,’ कम्प्लायन्स हेड महत भन्छन्, ‘पछि नियामकबाट सर्कुटर त आयो तर हामीले दिएजति डेटा दिनु भनेर आयो ।’ एनआईबीएल एसले बाँडफाँड गरेको आईपीओ ‘मेरो सेयर’मा अपलोड नगरी निजी कम्पनीलाई नबाँड्ने गरेको उनले बताए । ‘मेरो सेयरमा हामीले नै अपलोड गर्ने हो, खासमा लगानीकर्ताले अन्यत्र खोज्नै पर्दैन,’ उनले भने, ‘मेरो सेयरमा हेरे भइहाल्छ ।’ एनआईबीएल एसको वेबसाइटमा पनि आईपीओ क्याटेगोरी छैन । एनआईबीएल एस क्यापिटलले आज लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड गरेको छ ।

सेयर लगानीकर्ताका डिम्याट खाता दुरुपयोग : रविन्द्र भट्टराई

कतिपय मर्चेन्ट बैंकरले गैरजिम्मेवार जवाफ दिने गरेका छन् । आफ्नै वेबसाइटमा नराखेको विषयमा सानिमा क्यापिटलका बैंकिङ प्रमुख मन्दीप लुइँटेल लगानीकर्ताका डिम्याट अकाउन्ट निजी कम्पनीलाई दिँदा दुरुपयोग नहुने तर्क गर्छन् । लगानीकर्ताले आफूले आवेदन दिएको कम्पनीको सेयर पर्‍यो कि परेन भनेर जान्ने अधिकार रहेकाले सञ्चारमाध्यमलाई दिइएको जिकिर उनको छ ।

उनले आफूहरूले आफ्नै पोर्टलमा नराख्ने गरेको र जरुरी पनि नभएको बताएका छन् । लगानीकर्ताले सूचना पाउने पहिलो सुरक्षित स्रोत स्वयं मर्चेन्ट बैंकरको वेबसाइट हो । तर, निजी कम्पनीलाई बाँड्न सहज ठानेको सानिमा क्यापिटलले लगानीकर्ताको गोप्य सम्पत्ति विवरण दुरुपयोग गर्नुलाई सामान्य रुपमा लिएको छ ।

सानिमा क्यापिटलको वेब पोर्टलबाटमा धेरै समस्या छ । साउन २७ गते एनआरएन डेभलपमेन्ट एन्ड इन्फ्रास्टक्टरको प्राथमिक सेयर बाँडफाँड भएको दिन र भोलिपल्ट पनि वेबसाइटमा आईपीओ रिजल्ट क्याटेगोरी खुलेको थिएन । त्यसबेला प्रमुख लुइँटेलले ‘वेबसाइटमा आज समस्या छ’ भन्दै पन्छिएका थिए । तर, रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडका दिन पनि सानिमा क्यापिटलको आईपीओ रिजल्ट क्याटेगोरी खुलेको थिएन ।

सिद्धार्थ क्यापिटलले सोमबार (आज) समाज लघुवित्तको आईपीओ बाँडफाँड गरेको छ । सिद्धार्थको वेबसाइटबाट पनि आईपीओको रिजल्ट हेर्ने क्याटेगोरी हटाइएको छ । केही दिनअघि सिद्धार्थ क्यापिटलका सीईओ ध्रुव तिमिल्सिनाले आफ्नै कार्यकक्षमा ‘आईपीओको रिजल्ट हाम्रै वेबसाइटबाट हेर्दा भइहाल्छ नि, लगानीकर्ताले अरु वेब पोर्टल किन चहार्ने ?’ भन्दै देखाएका थिए ।

लगानीकर्ताको व्यक्तिगत सम्पत्ति विवरण निजी कम्पनीलाई बाँड्न नहुनेमा नियामक निकाय धितोपत्र बोर्ड पनि सचेत रहेको बताउँछ । तर, नदिन मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छैन । ‘विगतमा भन्दा अहिले धेरै सच्यायौँ,’ उनले भने, ‘अझै सच्याउनुपर्ने देखिएको छ, हामी शीघ्र छलफल गरेर टुंग्याउँछौँ ।’

त्यस्तै केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का सीईओ पूर्णप्रसाद आचार्यले पनि निजी कम्पनीलाई लगानीकर्ताको व्यक्तिगत विवरण दिनु गलत भएको बताए । ‘धितोपत्र बोर्डले विगतको भन्दा केही करेक्सन गरेको रहेछ,’ उनले भने, ‘यसमा अझै करेक्सन गर्नुपर्छ ।’

लगानीकर्ताको सम्पूर्ण विवरण विगतमा दिइसकेकाले अहिले डिम्याट नम्बरमात्रै दिइयो भन्नुको अर्थ नरहने सेयर बजार विश्लेषक बताउँछन् । ‘विगतमा सम्पूर्ण विवरण दिइएकाले अहिले डिम्याट अकाउन्टमात्र दिइएको छ, भन्नुको कुनै अर्थ हुँदैन,’ विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘लगानीकर्ताका कुनै पनि विवरण निजी कम्पनीलाई बाँड्नै मिल्दैन ।’

यी पनि पढ्नुहोस्

डिम्याट अकाउन्ट दुरुपयोगको आशंका, धितोपत्र बोर्ड भन्छ‑ नियमन गर्छौं

चार लाख सेयर लगानीकर्ताको ‘डिम्याट अकाउन्ट दुरुपयोग’

मर्चेन्ट बैंकरको रवैया, आईपीओको रिजल्ट आफू राख्दैनन्, निजी कम्पनीलाई बाँड्छन्

प्रकाशित समय १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु