गृहपृष्ठ पिलुवा खोलामा जुट्यो लगानी, सिटिजन्स बैंकको अगुवाइमा १ अर्ब ३२ करोड लगानी
पिलुवा खोलामा जुट्यो लगानी, सिटिजन्स बैंकको अगुवाइमा १ अर्ब ३२ करोड लगानी
रिभर फल्स पावरद्वारा प्रवर्धित पिलुवा खोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । संखुवासभाको धर्मदेवी र चैनपुर नगरपालिकामा रहेको आयोजनाका लागि सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैंकले कर्जा लगानी गर्ने भएका हुन् ।
परियोजनाको अनुमानित लागत करिब १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ छ । यसमध्ये सिटिजन्स बैंकबाट ६५ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकबाट ४२ करोड र प्रभु बैंकबाट २५ करोड रुपैयाँ लगानी हुनेछ । थप ३० प्रतिशत प्रवर्धकले स्वपुँजी लगानी गर्नेछन् ।
कम्पनीले आयोजना २ वर्ष ५ महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वरस्थित सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र बर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुने प्रवर्धक रिभर फल्सले जनाएको छ ।
सम्झौता हस्ताक्षरका क्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोनाभाइरसका कारण सिर्जित कठिन समयमा परियोजनाको वित्तीय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धि रहेको बताए । त्यस्तै रिभर फल्सका कार्यकारी निर्देशक सुभाष अमात्यले आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराए ।
प्रकाशित समय ०७:१३ बजे

















