गृहपृष्ठ मुगुमा हजार रुपैयाँको नक्कली नोट फेला
मुगुमा हजार रुपैयाँको नक्कली नोट फेला
मुगुको राष्ट्रिय वाणिज्य बैकमा कारोवार गर्न आएका सेवाग्राहीबाट नक्कली नोट फेला परेको छ । मंगलबार छायाँनाथ रारा नगरपालिका वडा नं १३ का सुरथ बहादुर रावतले आफनो खातामा जम्मा गर्न ल्याएको एकहजार रुपैयाँको नोट नक्कली भएको बैंकले जनाएको छ ।
सो नोटमाथि शंका लागेपछि राष्ट्रिय बाणिज्य बैक मुगु शाखाका कर्मचारीले चेक गर्दा नक्कली भएको फेला परेको नगद सहायक सरोज न्यौपाने जानकारी दिए । एक हजारको एउटा मात्र नोट जम्मा गर्न आएका रावतले जम्मा गरिसकेर घर फर्किसकेपछि अन्य नोट भन्दा फरक लागेपछि नोट चेक गर्दा नक्कली भेटिएको उनले बताए ।
भेटिएको नोटमा सक्कली नोटभन्दा तौल कम भएको, रंग फिका देखिएको, हातमा नोट मुठ्ठी पार्दा कागजजस्तै डल्लो पर्ने गरेको, पानी छापमा रहेको लालीगुराँस नभएको, नोटको बिचमा रहेको सिल्भर चम्किलो रेखा नभएको पाइएको नगद सहायक न्यौपानेले जानकारी दिए ।
बैंकमा नक्कली नोट फेला परेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका साथै नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराएको बैंकले बताएको छ ।
प्रकाशित समय १९:२८ बजे

















