गृहपृष्ठ किन उचालिँदै छ सेयर बजार ?
किन उचालिँदै छ सेयर बजार ?
सेयर बजार परिसूचक नेप्से साताभरमा ५२.३९ अंकले बढेको छ । केही सातादेखि लगातारजसो उकालो लागिरहेको सेयर बजार यो साताको आइतबार १४५८.०३ अंकबाट कारोबार सुरु भएर बिहीबार १५१०.४२ अंकमा बन्द भएको हो ।
नेप्से परिसूचक आइतबार ४.६४, सोमबार २२.३१ र बुधबार २५.२८ अंकले बढ्यो । बिहीबार परिसूचक ०.१५ अंकले घट्यो । मंगलबार सार्वजनिक बिदा परेको थियो ।
साढे ११ अर्बको कारोबार
साताभरमा चार दिनमात्रै कारोबार हुँदा ११ अर्ब ६९ करोड २८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ६१ करोड ४५ लाख, सोमबार ३ अर्ब ४६ करोड २५ लाख, बुधबार ४ अर्ब १८ करोड १० लाख र बिहीबार २ अर्ब ४३ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हो । गत साताभरमा ९ अर्ब ७४ करोडको सेयर खरिद–बिक्री भएको थियो ।
सेयर संख्याको हिसाबमा पनि यो साता निकै अगाडि छ । साताभरमा ३ करोड ४ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार ३६ लाख ८५ हजार ९६३ कित्ता, सोमबार ७७ लाख ६३ हजार ५६ कित्ता, बुधबार ९६ लाख ८६ हजार कित्ता र बिहीबार ९३ लाख २ हजार ९७० कित्ता सेयर किनबेच भएको हो ।
धेरै बढ्ने कम्पनी
आइतबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यस्तै सगरमाथा इन्स्योरेसन्स, उन्नति सहकार्य लघुवित्त, हिमालयन पावर पार्टनर, अरुण काबेली पावरलगायत कम्पनी पनि सर्वाधिक बढ्ने १० कम्पनीको सूचीमा परे ।
सोमबार आठवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । नेपाल रिइन्स्योरेन्स कम्पनी, उन्नति सहकार्य लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सिनर्जी पावर, अरुण काबेली पावर, रैराङ हाइड्रोपावर, पाँचथर पावर र युनियन हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको थियो ।
बुधबार हाइड्रो समूहमा उछाल आउँदा आठ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । अरुण भ्याली हाइड्रोपावर, राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर, युनियन हाइड्रोपावर, ङाँदी ग्रुप पावर, रिदी हाइड्रोपावर, पाँचथर पावर र अपी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।
त्यस्तै बिहीबार चारवटा कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । उन्नति सहकार्य लघुवित्त, अरुण काबेली पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा अधिकले बढेको हो ।
धेरै मूल्यको कारोबार
आइतबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड ३२ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भयो ।
बुधबार नेपाल रिइन्स्योरेन्सको मात्रै ६७ करोड ४२ लाखको सेयर किनबेच भयो । त्यस्तै शिखर इन्स्योरेन्स १७ करोड ७५ लाख, नेसनल लाइफ इन्स्योरेन्स १६ करोड ५१ लाख, नेपाल लाइफ इन्स्योरेन्स १५ करोड ७५ लाख, नेको इन्स्योरेन्स १४ करोड ६७ लाख, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल १४ करोड ६० लाख, एनआईसी एसिया ११ करोड ५२ लाख, शिवम् सिमेन्ट ११ करोड ४८ लाख र हिमालयन डिस्टिलरी १० करोड ४६ लाख रुपैयाँसहित उच्च कारोबार हुने १० कम्पनीको सूचीमा रहे ।
बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ४१ करोड ५७ लाख रुपैयाँको कारोबार भएको थियो ।
प्राविधिक समस्या
पुँजीबजारमा साताभर नै प्राविधिक समस्या देखियो । आइतबार प्राविधिक समस्याका कारण मध्याह्न १२ बजेपछि करिब तीन घण्टा कारोबार बन्द गरेर पुनः खोलिएको थियो । प्राविधिक समस्या समाधान भएपछि दिउँसो सवा ३ बजेमात्र बजार खोलिएको थियो ।
साताभर नै नेप्सेको वेबसाइटमा समस्या आइरह्यो । कहिले साइट नै नखुल्ने, कहिले कारोबार विवरण यथार्थ नआउने त कहिले बाइङ–सेलिङ अर्डरमा डुब्लिकेसन आउने भइरह्यो । नेप्सेको सिस्टममा अहिले मात्रै समस्या आएको भने होइन । बारम्बार आइरहने समस्या समाधानका लागि नेप्से नेतृत्वले खासै पहल नगरेको भन्दै लगानीकर्ता रुष्ठ हुँदै आएका छन् । तथापि, समस्या समाधानको पहल भएको छैन ।
नेप्सेले ब्रोकर र ब्रोकरले नेप्सेलाई आरोप लगाउँदै समय बितिरहेको छ । नेप्सेले प्रयोगमा ल्याएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) र ब्रोकरहरूले प्रयोग गरिरहेको ब्याक अफिस सिस्टमबीच कनेक्सन नगरिँदा समस्या आइरहे पनि पनि निराकरणका लागि पहल भएको छैन । नियामक धितोपत्र बोर्डले पनि यसलाई गम्भीरतापूर्वक नलिएको लगानीकर्ता बताउँछन् ।
त्यस्तै केही दिनदेखि सिडिएस एन्ड क्लियरिको वेबसाइटमा पनि समस्या आइरहेको छ । कहिले ड्यासबोर्ड नखुल्ने, कहिले पोर्टफोलियो हेर्न नमिल्नेलगायतका समस्या बारम्बार आइरहेपछि सिडिएससीले सूचना नै जारी गरेर क्षमा मागेको छ ।
किन उचालिँदै छ ?
सेयर कारोबार रकम उच्च बन्दै जाँदा ठूला लगानीकर्ता पनि बजार प्रवेश गरेको अनुमान लगाउन थालिएको छ । साताभरको कारोबार रकमले पनि यसलाई पुष्टि गर्छ । मूलतः लकडाउन र निशेषाज्ञाका कारण व्यवसायका सबै अवसर अवरुद्ध भएका बेला व्यवसायी-लगानीकर्ता ट्रेडिङका लागि सेयर बजारमा प्रवेश गरेको कतिपयको विश्लेषण छ ।
यसलाई स्पष्ट पार्ने केही आधार पनि छन् । अहिले कर्जा प्रवाह हुन नसकेका कारण बैंकहरूमा अधिक तरलताको स्थिति छ । फलतः कर्जामा ब्याजदर निकै तल झरेको छ । निक्षेप संकलन भइरहने तर कर्जा प्रवाह नहुने अवस्था आएसँगै बैंकहरूले सेयर कारोबारी व्यवसायीलाई बोलाएरै मार्जिन लोन दिने गरेका छन् । व्यवसायीहरु सस्तो ब्याजको अवसर उपयोग गर्दै सेयर किन्न थालेपछि ठूलो कारोबार रकमसँगै परिसूचक उकालो लाग्न थालेको हो ।
डा. युवराज खतिवडा अर्थमन्त्री भएसँगै त्यसैलाई बहाना बनाउँदै बजारमा चलखेल भइरहेको थियो । अहिले उनको बहिर्गमन सेयर बजारमा हल्ला फैलाउनेहरूका लागि अनुकूल समय भइदिनसक्छ ।
नेपालमा गैरबैंकिङ क्षेत्र या अनौपचारिक क्षेत्रमा ठूलो पैसा रहेको अनुमान गरिन्छ । सेयर बजारमा अनुकूल मौसम पर्खिएर यस्ता पैसा निस्किने गर्छन् । समय सन्दर्भ मिलाउँदै अहिले पलङ र ट्यांकीबाट पैसा निकालिएको पनि कतिपयको अनुमान छ ।
कतिपयले अहिलेको अवस्थालाई ‘सेयर साइकल’को रुपमा पनि हेरेका छन् । लामो समयदेखि घटिरहेको बजार ४० प्रतिशतले घटेपछि स्थिर बन्यो । सेयर मूल्य र चार गुणाभन्दा धेरैले बढेको सेयर संख्या समायोजन भइसकेकाले अब बजार बढ्छ भन्ने बुझाइमा पनि कतिपय लगानीकर्ता छन् ।
सेयर बजारमा सक्रिय लगानीकर्ताको संख्या बढ्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अघिल्लो शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार दुई सातामै साढे ७ हजार अनलाइन लगानीकर्ता बढेका छन् । तथ्यांकअनुसार दुई सातामै अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिनेको संख्या ७ हजार ४६० जनाले बढेको हो ।
हाल (भदौ ११ गते) अनलाइन लगानीकर्ताको संख्या ६४ हजार ६१६ पुगेको छ । युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या बढ्दै जानुले पनि बजारमा लगानीकर्ताले उपयुक्त समय कुरिरहेको स्पष्ट हुन्छ ।
प्रकाशित समय १६:५९ बजे

















