गृहपृष्ठ कोभिड-१९ का नाममा दाताले दिए रु. ६१ अर्ब, सरकारले खर्च गरिसक्यो १२ अर्ब
कोभिड-१९ का नाममा दाताले दिए रु. ६१ अर्ब, सरकारले खर्च गरिसक्यो १२ अर्ब
आईएनजीओले ल्याए तीन अर्ब रूपैयाँ
नेपाललाई कोरोना भाइरस महामारी (कोभिड-१९) सँग जुझ्नका लागि दाताहरूले हालसम्म ५१ करोड ८३ लाख अमेरिकी डलर (करिब ६१ अर्ब १६ करोड रूपैयाँ) सहायता प्रदान गरेका छन् ।
सरकारले विगत ६ महिनामा कोरोना नियन्त्रण, अनौपचारिक क्षेत्रका कामदार, विपन्न नागरिक आदिलाई राहतसहित विभिन्न शीर्षकमा १२ अर्ब रूपैयाँभन्दा बढी खर्च गरिसकेको छ । यदि प्रदेश तथा स्थानीय निकायलाई ‘दोहोरो परेको’ भनिएको १ अर्ब ४९ करोड रूपैयाँसमेत जोड्ने हो भने सरकारले गरेको खर्च १३ अर्ब ३७ करोड रूपैयाँ हुन्छ ।
दाताहरूले हालसम्म नेपाललाई कोभिड-१९ महामारीसँग जुझ्न र त्यसले पारेका आर्थिक सामाजिक प्रभावलाई सम्बोधन गरी अर्थतन्त्र पुनर्बहाल गर्नका लागि ५५ करोड ३ लाख १७ हजार अमेरिकी डलर (करिब ६४ अर्ब ९३ करोड रूपैयाँ) सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा हालसम्म ५१ करोड ८३ लाख अमेरिकी डलर (करिब ६१ अर्ब १६ करोड रूपैयाँ) प्रदान गरिसकेको अर्थमन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वैदेशिक सहायता समन्वय पोर्टलका अनुसार सबैभन्दा बढी एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकले कोभिडका नाममा सहयोग गरेका छन् । यीमध्ये एडीबीले २५ करोड अमेरिकी डलर (करिब २९ अर्ब ५० करोड रूपैयाँ ) दिइसकेको छ, कुल कोभिड-१९ का नाममा आएको कुल सहयोगको ४८.२ प्रतिशत हो ।
यस्तै, विश्व बैंक समूहले २१ करोड ९८ लाख डलर (करिब २५ अर्ब ९३ करोड रूपैयाँ) बराबरको सहायता प्रदान गरेको अर्थमन्त्रालयले जनाएको छ, यो कोभिड-१९ जन्य कुल सहयोगको ४२.४ प्रतिशत हो ।
अमेरिकी सहयोग नियोग (यूएसएआईडी)ले २ करोड ५८ लाख ६० हजार डलर (करिब ३ अर्ब ५ करोड रूपैयाँ), युरोपेली युनियनले १ करोड ४ लाख ३० हजार डलर (करिब १ अर्ब २३ करोड रूपैयाँ) सहयोग दिएको छ ।
यीबाहेक अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) संयुक्त राष्ट्र संघीय निकायहरू, स्वीस डेभलपेमेन्ट कोअपरेसन (एसडीसी)लगायतका दाताहरूले कोभिड-१९ का नाममा सहयोग प्रदान गरेको देखिन्छ ।
कोभिड-१९ सँग जोडिएर आएको अधिकांस बजेट सरकारको बजेटरी कार्यक्रमभन्दा बाहिर (अफ बजेट)बाट आएको र त्यसको ठूलो हिस्सा अनुदान र प्राविधिक सहयोगका स्वरूपमा लगानी गरिएको देखिएको छ ।
आईएनजीओले ल्याए ३ अर्ब रूपैयाँ
कोभिड-१९ महामारी नेपालमा कार्यरत वा यहाँ कार्यथलो बनाएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका लागि सहयोग भित्र्याउने अर्को माध्यम बनेको छ । हालसम्म आईएनजीओहरूले कोभिड-१९ का नाममा २ करोड ५८ लाख ६० हजार ५९६ अमेरिकी डलर (करिब ३ अर्ब ५ करोड १५ लाख रूपैयाँ) ल्याएर परिचालन गरिसकेको अर्थमन्त्रालयको विवरणबाट देखिन्छ ।
यस्तो सहयोग ल्याउनेमध्ये करिब आधा दर्जन क्रिश्चियन धर्मसँग जोडिएका आईएनजीओहरू छन् ।
कोभिडका नाममा सहयोग भित्र्याउने आईएनजीओहरू
सेवा नेपाल आईकेयर, फिन चर्च एड फाउन्डेसन, सीबीएम नेपाल कन्ट्री अफिस, मिसन इस्ट,टीयर फन्ड, सेभ द चिल्ड्रेन, हेल्पिङ ह्यान्ड, वाटर एड, वर्ल्ड भिजन इन्टरनेसनल, एक्सन कन्ट्रे ला फेइम, केयर नेपाल, गुड नाइबर्स इन्टरनेसनल नेपाल, वन वर्ल्ड वनलस, माउन्टेन चाइल्ड, अम्ब्रेला फाउन्डेसन, वन हर्ट वर्ल्ड-वाइड नेपाल, टेरे दे होम्स लुजान, मेडिसिन डु मोन्द,गुड सेफर्ड इन्टरनेसनल फाउन्डेसन, फार्म एड, किडिसा, युनाइटेड मिसन्स टु नेपाल, चीनका दाता नखुलेको (इन्डिभ्युजल डोनर), इन्टरनेसनल नेपाल फेलोसिप, आड्रा नेपाल, क्याथोलिक रिलिफ सर्भिस
प्रकाशित समय १७:२२ बजे

















