गृहपृष्ठ आर्थिक गतिविधि बहाल हुन थालेपछि आयात बढ्यो
आर्थिक गतिविधि बहाल हुन थालेपछि आयात बढ्यो
१३ अर्ब ७३ करोडको अन्न, ६ अर्बका तरकारी आयात
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीको प्रत्यक्ष असर नेपालको वैदेशिक व्यापारमा परेको छ । यद्यपि, सरकारले लकडाउन खुला गरेको र आर्थिक गतिविधि बहाल हुँदै गएका कारण साउनका तुलनामा भदौमा आयात ८ प्रतिशतले र निर्यात १२.५ प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको वैदेशिक व्यापारसम्बन्धि तथ्यांकले आयात बढेको देखाएको हो । विशेषतः संकटका समयमा पनि खाद्य तथा पेय पदार्थको आयात बढिरहेका कारण समग्र आयातको तथ्यांकमा त्यसका सकारात्मक प्रभाव देखिएको हो ।
साउनमा कुल ८५ अर्ब ८० करोड रूपैयाँको आयात भएकोमा भदौमा ९३ अर्ब रूपैयाँको आयात भएको र साउनमा ९ अर्ब ६२ करोड रूपैयाँको निर्यात भएकोमा भदौमा १० अर्ब ८२ करोड रूपैयाबराबरको निकासी भएको भन्सार विभागको तथ्यांकले देखाँउछ ।
यद्यपि, पहिलो दुई महिनामा समग्र आयात व्यापार भने २२ प्रतिशतले घटेको भन्सार विभागका तथ्यांकले देखाएको छ । गत वर्ष यही अवधिमा २ खर्ब २९ अर्ब ५० करोड रूपैयाँको आयात भएकोमा यस वर्ष १ खर्ब ७८ अर्ब ८४ करोड रूपैयाँमा झरेको छ ।
निर्यात भने गत वर्षको समान अवधिको तुलनामा साढे १० प्रतिशतले बढेको छ । गत वर्ष पहिलो दुई महिनामा १५ अर्ब ५० करोड रूपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष २० अर्ब ४४ करोड रूपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
१३ अर्ब ७३ करोडको अन्न, ६ अर्बका तरकारी आयात
साउन र भदौ महिनामा मात्रै कुल १३ अर्ब ७३ करोड रूपैयाँको अन्न, ६ अर्ब रूपैयाँको तरकारी, २ अर्ब ७३ करोड रूपैयाँको फलफूल आयात भएको छ । यसमध्ये ७ अर्ब ७२ करोड रूपैयाँको त धान-चामलमात्रै आयात भएको छ ।
अत्यावश्यक वस्तु अन्तर्गत राखिएका यी वस्तुहरूको आयात लकडाउन अवधिमा पनि जारी नै राखिएको थियो ।
नेपालमा दैनिक औसत ५ हजार १२७ टन खाद्यान्न, १ हजार ३ सय ७२ टन तरकारी र ४६४ टन फलफूल र ८७७ टन दलहन आयात हुने गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लडकाउन सुरू भएदेखि भदौ ३१ गतेसम्म ९ लाख ७ हजार ५०६ मेट्रिक टन खाद्यान्न, १ लाख ५५ हजार २०४ मेट्रिक टन दलहन, २ लाख ४२ हजार ९३० मेट्रिक टन तरकारी, ८२ हजार १७१ मेट्रिक टन फलफूल र १३ हजार ३१ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।
लकडाउनका पहिलो महिना ४६ हजार मेट्रिक टनमात्रै खाद्यान्न आयात भएकोमा साउन र भदौमा २ मासिक लाख टनभन्दा बढी खाद्यान्न आयात भएको छ । यस्तै, पछिल्ला दुई महिनामा मासिक औसत साढे ५३ हजार टनका दरले तरकारी आयात भइरहेको मन्त्रालयको तथ्यांकबाट देखिन्छ ।

पाम आयलको निर्यात संकुचित
भारतले आयातमा रोक लगाएसँगै नेपालबाट हुने पाम आयलका निर्यात घटेको छ । गत वर्षका पहिलो दुई महिनामै नेपालबाट ३६ अर्ब १३ करोड रूपैयाँबराबरको पाम आयल निर्यात भएकोमा यो वर्ष हालसम्म जम्मा ४ करोड ४३ लाख रूपैयाँको मात्र पाम आयल निर्यात भएको भन्सार विभागका तथ्यांकले देखाउँछ ।
प्रकाशित समय १४:१८ बजे

















