गृहपृष्ठ इसेवालाई आईएसओ २७००१:२०१३ मान्यता

इसेवालाई आईएसओ २७००१:२०१३ मान्यता

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक इसेवाले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय रहेको प्रमाणित भएको छ ।

आईएसओबाट प्रमाणित भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास सापकोटाले स्थापना कालदेखि नै सूचना प्रणाली, गोपनीयता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएको बताए । ‘हामीले टेक्नोलोजीमा आधरित व्यवसाय सञ्चालन गरिरहेकाले अझ बढी संवेदनशील भएर विश्वस्तरीय सुरक्षा मापदण्ड अपनाउँदै आएका छाँै,’ उनले भने, ‘यसै सिलसिलामा सूचना प्रणालीसम्बन्धी ग्लोबल बेन्चमार्क आइएसओ २७००१ तोकेका मापदण्ड पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु हामी, हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा वित्तीय संस्था, सेवाप्रदायक संस्थालगायत सम्पूर्ण सरोकारवालाका लागि खुसीको कुरा हो । आईएसओबाट सर्टिफाइड भएसँगै हाम्रो सेवा सुरक्षित र गुणस्तरीय छ भन्ने कुरा थप पुष्टि भएको छ ।’

आइएसओ २७००१ः२०१३ (हालको संस्करण) संसारमा सबैभन्दा विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मूख्य आधार नै आइएसओलाई चिनिन्छ । यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुको बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनियता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ । आइएसकोको यो प्रमाणपत्र प्राप्त गरेसँगै इसेवाले सूचना सुरक्षा प्रणाली व्यवस्थापनमा निर्माण गरेको संरचना विश्वस्तरिय रहेको थप पुष्टि भएको छ ।

नेपालमा डिजिटल भुक्तानी व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाखभन्दा बढी छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका र वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको सीईओ सापकोटाले बताए । हाल इसेवाका देशभर एक लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् ।

प्रकाशित समय १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु