गृहपृष्ठ ‘जनप्रतिनिधिले सबैको साझा बन्न सक्नुपर्छ, विचारकै आधारमा फरक व्यवहार गरिनु हुन्न’
‘जनप्रतिनिधिले सबैको साझा बन्न सक्नुपर्छ, विचारकै आधारमा फरक व्यवहार गरिनु हुन्न’
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड- १९) महामारीको चपेटामा नेपाल पनि परेको छ । गत चैत ११ बाट देशभर लागू गरिएको लकडाउन करिब ४ महिनापछि हटेको थियो । त्यसपछि लगाइएको निषेधाज्ञा पनि खुकुलो भइसकेको छ । अधिकांश क्षेत्र सञ्चालनमा आइसकेका छन् । कोरोना महामारीको रोकथामका लागि स्थानीय सरकारले के-कस्ता प्रयास गरिरहेका छन् ? स्थानीय सरकार गठन भइसकेपछि जनतका सेवासुविधा तथा विकास निर्माणका काम र प्रयासहरुका विषयमा केन्द्रित रहेर न्युज कारोबारका सुदूरपश्चिम संयोजक दिनेश बिष्टले डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीसँग गरेको कुराकानी :
प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिएको ५ महिना बितेको छ । यो बेला कोरोनासँग जुझ्न र नागरिकको जनजीविकालाई सहज बनाउन गाउँपालिकाले कस्तो भूमिका खेल्यो ?
हामी पनि यस कोरोना महामारीबाट अछुतो रहेनौँ । हाम्रो गाउँपालिका पनि यसबाट अछुतो रहेन । भाइरसबाटै बच्नका लागि सरकारले गरेको लकडाउनका कारण हाम्रा सबै विकासका काम रोकिए । कोरोनाका बेला स्थानीय सरकारले काम गरिरहेकै भए पनि हामीले नागरिकलाई पुरानै अवस्थामा ल्याउन त सकेनौँ । हाम्रो गाउँपालिकामा २३ हजार बढी जनसंख्या छ । तीमध्ये ८ हजार जति कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो । यसै कोरोना कहरका बेला २५ सय जना भित्रिए । ती सबैलाई हामीले क्वारेन्टिनमा राखेर सुुरुमा आरडीटी तथा पछि पीसीआर परीक्षण गर्यौँ । भारतबाट गड्डाचौकी तथा त्रिनगर नाकासम्म आइपुगेका हाम्रा दाजुभाइहरुलाई हामीले निशुल्क गाडी पठाएर उद्धार पनि गरेका थियौँ ।
क्वारेन्टिनमा बस्दासम्म सम्पूर्ण खाने व्यवस्था हामीले नै गरेका थियौँ । कसैलाई बिरामी देखिए तुरुन्त उपचार पनि गर्यौँ । कोरोना पोजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा राख्यौँ । बढी नै लक्षण देखिएकाहरुलाई थप उपचारका लागि एम्बुलेन्समार्फत धनगढी पठाएका थियौँ । यसका साथै महामारीले शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्र त प्रभावित भए, शिक्षा क्षेत्र सुचारु गर्न पाएका छैनौँ । हाम्रो गाउँपालिकामा झण्डै २ सय आरडीटी तथा पीसीआर पोजेटिभ देखिएका थिए । तर मानवीय क्षतिबाट भने हामी बचेका छौँ ।
समुदाय स्तरमा पनि हामीले कोरोना फैलिन दिएका छैनौँ । यसमा सम्बन्धित सबैको सहयोगले हो । हामीले जनचेतनासँगै सबै जनतालाई मास्क बाँड्ने काम पनि गरेका छौँ । कोरोनाको उपचार तथा रोकथाममा खट्ने स्वास्थ्यकर्मीहरुलाई हामीले जोखिम भत्ता पनि उपलब्ध गराएका छौँ । हामीले लकडाउनका समयमा रोजगारी गुमेर समस्यामा परेका नागरिकहरुलाई राहत उपलब्ध गरायौँ । त्यसका साथसाथै हामीले दातृ निकाय तथा विभिन्न संघसंस्थाहरुलाई पनि सहयोगका लागी आग्रह गरेका थियौँ । कोरोना रोकथाम तथा नियन्त्रणमा हाम्रो गाउँपालिकाले १ करोड २७ लाख रुपैयाँ खर्च गरेको थियो । यो खर्च बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्न, खानपिन, चेकजाँच, राहत, स्वास्थ्यकर्मीको जोखिम भत्ता लगायतका काममा खर्च भएको हो ।
जुन नाकाबाट उद्धार गरेर क्वारेन्टिनसम्मै पुर्याउने काम पनि गाउँपालिकाले गर्यो भन्नुभयो । यो सुरुमा मात्रै हो कि अहिले पनि गरिराख्नु भएको छ ?
तत्कालीन समयमा मानिसको धेरै चाप र सवारी साधन पनि बन्द भएको अवस्था थियो । सबै नागरिक त्रसित थिए । उहाँहरुको पीडालाई मध्यनजर गरेर निशुल्क बस तथा भाडा उपलब्ध गराउनेसम्म काम गर्यौँ । तर अहिले भाडा उपलब्ध गराइरहेका छैनौँ । सँधै भाडा दिइरहनु पर्ने आवश्यकता पनि भएन । अनि बजेटको अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ । अहिले गाडी खुलिसकेका छन् । त्यसकारण सम्बन्धित व्यक्तिहरु आफैँ पनि अहिले गन्तव्यसम्म पुग्न सक्ने अवस्था छ । अहिले पनि क्वारेन्टिन राखेकै छौँ, एम्बुलेन्सको व्यवस्था गरेकै छौँ, उहाँहरुलाई परिक्षण पनि गरिरहेकै अवस्था छ ।
गाउँपालिकामा कोरोना संक्रमण र क्वारेन्टिन तथा आइसोलेसनको अहिलेको अवस्था के छ ?
हामीले सुुरुमै थोरै-थोरै क्षमताको क्वारेन्टिनले पनि पुग्छ भन्ने सोचेका थियौँ । तर भारतबाट हुलका हुल नागरिक भित्रिन थालेपछि परिस्थिति परिवर्तन भयो । हामीले पछि ३९ वटा क्वारेन्टिन बनायौँ । त्यतिबेला सबै व्यवस्थित नै थिए त हामी भन्दैनौँ । किनकि अवस्था नै त्यस्तो थियो । अहिलेसम्म हामीले २ हजार बढी मान्छेहरुलाई क्वारेन्टिनमा राख्यौँ । २ सय जति पोजेटिभ भएका सबै निको भएर घर फर्केका छन् । होम क्वारेन्टिनमा करिब ४० जना हुनुहुन्छ । अहिले भारतबाट आउने क्रम पनि कम छ । हामीले टोल-टोलमा सचेतनाका सन्देश दिएका छौँ । स्थानीय सरकारको कर्तव्यअनुसार हामीले पूर्ण काम गरेका छौँ । कोरोनाबाट कसैले ज्यान गुमाउनु नपरोस्, हाम्रो गाउँपालिकाका नागरिकले सरकारको अनुभूति गर्न पाउन् भन्ने गरी हामीले कामलाई निरन्तरता दिएका छौँ । अहिले ५ बेडको आइसोलेसन बनाएका छौँ । अब सबै वडामा आइसोलेसन बनाउँदैछौँ । हामीले एमबीबीएस डाक्टरको समेत व्यवस्था गरेका छौँ । केही दिनमै डाक्टर आइपुग्दै हुनुहुन्छ । गाउँपालिका आफ्नो काममा गम्भीर भएर प्रक्रियागत रुपमा काम गरिरहेको छ ।
अब आगामी दिनमापनि संक्रमणबाट बच्न र अन्य गतिविधि सञ्चालन गर्न गाउँपालिकाको रणनीति कस्तो छ ?
जतिबेला हामीलाई समस्या सिर्जना हुन्छ, त्यतिबेला चुनौती पनि आउँछ । तर हामीले त्यसमा अवसर पनि पाउँछौँ । संसारमा जीवनचक्रको आधारमा सबै चिज गतिशील छन् । विभिन्न समयमा हैंजा, भाइरसजस्ता रोग तथा महामारीले गर्दा नियमित कामको गतिलाई केही रोकिरहेको नै छ । कोरोना पनि संसारकै लागि चुनौती बनेको छ । नेपाल भने कोरोना नियन्त्रणमा सफल नै बनेको हो । अरु देशको क्षति हेर्दा नेपालको धेरै कम हो । मान्छे मर्नु हाम्रा लागि राम्रो होइन तर हामी अन्य देशको तुलनामा क्षति रोक्न सफल भएकै हौँ । अझै पनि हाम्रा नागरिकले जीवन गुमाउनु नपरोस् । अब कोरोनाका कारण ठप्प भएका गतिविधि सबै सञ्चालन गर्नुपर्छ । तर सुचारु गर्दै गर्दा जनता र समाजलाई जोखिममा राख्नु हुँदैन । तत्कालीन अवस्थामा भयाभह अवस्था छैन । त्यसैले गाउँपालिकाले शिक्षाबाहेक सबै क्षेत्र सुचारु गरिसकेको छ ।
अब शिक्षा क्षेत्रलाई पनि सुचारु गर्ने तयारी छ । सरकारले अनलाइन कक्षा त भनेको छ तर यो सबैको पहुँचमै छैन । सबै नागरिक इन्टरनेटको पहुँचमा छैनन् । अब विद्यालयका क्वारेन्टिन खाली गरेर विद्यालय पनि हामी सुचारु गर्छौँ ।
सुरुमा कोरोनाको जुन त्रास थियो अहिले समुदायमा त्यस्तो त्रास छ कि छैन ?
हिजोका दिनमा बाहिरका समाचार हेर्दा हामी धेरै त्रासमा थियौँ । आज जसरी हाम्रा नागरिक कोरोना जितेर घर गइरहेका छन् । जनताको आजको बुझाई परिवर्तन भइसक्यो । कोरोनाका कारण हाम्रा जनजीवन ठप्प गर्नुहुन्न । सुरक्षा सतर्कता चाहिँ अपनाउनुपर्छ । तर हिजोको जस्तै बन्द नै गर्नुपर्छ भन्ने छैन । पुर्वीचौकी गाउँपालिकामा मात्रै २ सय जना संक्रमित निको भएर घर फर्केका छन् । पुरानो मनोविज्ञानबाट सर्वसाधारण मुक्त भएका छन् । अब हामी लामो समयसम्म यही अवस्थामा हाम्रो देशलाई राख्ने हो भने, हामीले ठूलो धक्का पाउँछौँ ।
फरक प्रसंगमा कुरा गरौँ, तपाई निर्वाचित भएको ३ वर्ष बित्यो विकास निर्माणको अवस्था के छ ?
हामी ३ वर्षे कार्यकालमा सफल भएका छौँ । हामी नयाँ संरचनामा गएर तीन तहका सरकार बनेका हुन् । तीन तहकै सरकारमध्ये हामी पनि निर्वाचित भएर स्थानीय सरकार छौँ । निर्वाचनका बेला हामीले पनि जनताहरुसँग धेरै बाचा गरेका थियौँ । उहाँहरुलाई हामीले सपना देखाएका थियौँ । तर हामीले सबै सपना साकार पार्यौँ त भन्दैनौँ । तर जनताका घाउमा मल्हम चाहिँ लगाएकै हौँ ।
तपाइले आफ्नो काममा सन्तुष्ट छु त भन्नु भयो । यसमा देखिनेगरी के-के काम भए ?
स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका छन् । हामीलाई संविधानले दिएको अधिकारअनुसार ऐन, कार्यविधि बनाउनुपथ्र्यो । संघीय सरकारले कर्मचारी नै समयमा पठाइदिएको अवस्था थिएन, संरचना नै थिएनन् । यस्ता कुराले हाम्रो गतिलाई केही कमजोर बनाएको हो । हामीले २९ वटा कानुन निर्माण गरेका छौँ । हामी नेपालमै पहिलो आफ्नै बस सञ्चालन गर्ने गाउँपालिका हो । असुरक्षित यात्रा गर्नुपर्ने बाध्यतालाई हामीले टारेका छौँ । प्राविधिक शिक्षालय थिएन । जनताको माग र चाँडो बिक्री हुनसक्ने गरी हामीले यस्तो प्राविधिक शिक्षाको विकास गरेका छौँ । पुर्वीचौकी गाउँपालिकाका सबै वडाका सेन्टरहरुमा हामीले बाटो पुर्याएका छौँ । ति बाटो सबै राम्रा र चुस्तदुरुस्त छ त भन्दैनौँ तर बाटो भने खोलेको अवस्था हो ।
हामीले १५ शय्याको अस्पतालका लागि पास गरिसकेका छौँ । नेपाल सरकारबाट त्यो नआइसके पनि हामी सञ्चालनको तयारीमा छौँ । एमबीबीएस डाक्टरको विज्ञापन गरिसकेका छौँ । ‘१ घर १ धारा’कार्यक्रम अन्तर्गत संघीय सरकारबाटै हाम्रो गाउँपालिकामा कार्यक्रम छ । यसमा गाउँपालिकाले सहजीकरण र समन्वय गरिरहेको छ । म निर्वाचित भएर सपथ लिँदै गर्दा उज्यालो पुर्वीचौकी बनाउँछु भनेर भनेको थिएँ । जनताका बिचमा गरेका बाचाअनुसार गाउँपालिकाका ७ वटै वडामा बिजुली बालिसकेका छौँ ।
त्यसो भए आफ्ना काममा सन्तुष्ट हुनुहुन्छ ?
एकदम ढुक्क छु । पुल नभएका ठाउँमा हामीले करिब ७ वटा झोलुङ्गे पुल बनाएका छौँ । विद्यालयका कुरा गर्दा धेरै विद्यालय भवन, खेल मैदानलगायत निर्माण गरेका छौँ । कृषि सिँचाइका लागि १२ देखि १४ सय योजना सञ्चालित छन् । सशक्तीकरणका पाटोमा, महिला हिंसा, बालविवाह लगायतका विरुद्ध अभियान चलाएका छौँ । नागरिकको दैनिक जीवनस्तर माथि उकास्न राहत, अनुदानका कार्यक्रम हामीले सञ्चालन गरेका छौँ ।
गाउँपालिकामा अहिले अभाव र चुनौती के छ ? के कारणले कामको अपेक्षित गतिमा कमी भएको छ ?
मानिसमा सकारात्मक सोचको खाँचो हुन्छ । सकारात्मक सोचकै साथ जनता र राष्ट्रप्रति योगदान गर्ने सबैको भूमिका हुनुपर्छ । मलाई के लाग्छ भने, तीनै तहका सरकार जुन गतिले अगाडि बढ्नुपर्ने हो, कतिपय बाधा व्यवधान र चुनौतीका कारण त्यति गति लिएको छैन । मेरो अनुभवले के भन्छ भने, सबैभन्दा पहिले जनता, जनप्रतिनिधि तथा कर्मचारी सबै ठिक ढंगले प्रयोग र परिचालन भएनन् भने हाम्रो यात्रा हामी पूरा गर्न सक्दैनौँ ।
त्यसैले गाउँपालिकाको सन्दर्भमा सबैसँग सहकार्य गरेर अगाडि बढ्न सक्यौँ भने हामी सफल हुन्छौँ । सबै जातजाति, धर्मलाई एक ढिक्का बनाएर लगे फरक-फरक फूलको मालाझैँ समाज पनि चम्किन्छ । ती फूलहरुलाई अलग गरे सुगन्ध आउँदैन । हाम्रो समाजमा भएका सबैको एकता नभए समाज सुमार्गतिर जान सक्दैन । हामी जनप्रतिनिधिले सबैको साझा मान्छे बन्न सक्नुपर्छ । फरक विचारकै आधारमा फरक व्यवहार गरिनु हुँदैन । हामीले म जनप्रतिनिधि हुँ भन्ने दम्भ नभई झन् आत्मीयता बढाउन सके सफल भइन्छ । हामीले एक अर्कालाई दोष लगाएर अप्ठ्यारोमा पार्नु भनेको देशलाई नै कमजोर बनाउनु हो । आ-आफ्नो भूमिकामा सबै लाग्नुपर्छ । आफ्ना जिम्मेवारी सबैले पूरा गर्नुपर्छ अनि मात्र सफलता मिल्छ र देशले जित्ने छ ।
प्रतिवद्धतामा अडिग हुने मान्छेहरु नै संसारमा सफल भएका हुन् । यस्तै कुराले संसार परिवर्तन भएको हो । अरुले गर्न सक्ने हामीले नसक्ने भन्ने छैन । अहिलेको कोरोना महामारीका बेलामा पनि हामीले जसरी काम गरेका छौँ, त्यो सफलता हो । त्यसैले हामी सबैको एकताले देश बनाउन सकिन्छ र हामी सफल बन्न सक्छौँ ।
प्रकाशित समय १३:०३ बजे
















