गृहपृष्ठ दोस्रो ‘नेपाल-भारत फ्रेन्चाइज सम्मेलन’ यही असोज ३० गतेबाट
दोस्रो ‘नेपाल-भारत फ्रेन्चाइज सम्मेलन’ यही असोज ३० गतेबाट
नेपाली-भारतीय ब्रान्ड र आगन्तुकहरूलाई एकै मञ्चमा जुटाई एक अर्का देशबीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले यही असोज ३० देखि आगामी कार्तिक २ गतेसम्म पहिलो पटक भर्चुअलका माध्यमबाट NEPAL-INDIA FRANCHISE EXPO, AWARDS & SUMMIT आयोजना हुन लागेको छ ।
सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रन्चाइज डटकम (Nepalfranchise.com) को साझेदारीमा नेपालस्थित भारतीय राजदूतावास (Indian Embassy to Nepal) ले आयोजना गर्न लागेको हो । कार्यक्रममार्फत नेपाल तथा भारतका प्रसिद्ध ब्रान्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याई दुबै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्रान्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन् भने सम्मेलनलाई दुई हजारभन्दा बढी योग्य लगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशीप तथा अनुमती पत्रलगायतमा व्यवसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने छन् ।
गत वर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रन्चाइज एक्स्पो तथा सम्मेलनको अभूतपूर्व सफलतापश्चात् कार्यक्रमलाई एक स्थापित कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्यअनुसार दोस्रो संस्करणको रूपमा यो सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड–१९ को महामारीका कारण यस वर्षको नेपाल भारत फ्रन्चाइज एक्स्पो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको हो । यो सम्मेलनलाई नेपाल भारतबीच लगानी प्रवर्द्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मञ्चको रूपमा हेरिएको छ । पहिलो एक्स्पोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्रान्डहरूको सफल सहभागिता रहेको थियो । उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रममार्फत् व्यवसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयाँ अवसर तथा नविनतम् सोचको आदानप्रदानमा महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो ।
नेपाल युवाहरूको बाहुल्यता रहेको देश हो । कुल जनसंख्याको करिब ६० प्रतिशत ३० वर्ष मूनिको जनसंख्या रहेको छ । कोभिड १९ को महामारीभन्दा पहिले धेरै जसो प्रतिभाशाली युवाहरु विश्वव्यापी प्रसिद्ध ब्रान्डमा काम गर्ने इच्छासहित विदेशीने गर्दथे । अव विश्वको ध्यान नेपालतर्फ आकर्षित गरी नेपाली युवाहरूलाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गर्न प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू आकर्षित गर्नुपर्ने समय आएको छ ।
फ्लीपकार्ट (Flipkart), ओयो (OYO), कोक (Coke), युनिलिभर (Unilever), लेन्सकार्ट (Lenskart) जस्ता प्रतिष्ठित ब्रान्डसहित एक सयभन्दा बढी भारतीयसहित अन्तर्राष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा प्रवेश गरिसकेका छन् भने नेपालमै आफ्नो पहिचान बनाई सकेका स्वदेशी ब्रान्डहरू पनि विस्तार भैरहेका छन् ।
NEPAL INDIA FRANCHISE EXPO, AWARDS & SUMMIT जस्ता कार्यक्रमहरूले नेपालमा फ्रेन्चाइजको आकर्षणसहित उद्यमशीलतालाई बढावा दिनुका साथै हरेक वर्ष द्विपक्षीय सफलताहरू आदान प्रदानमा समेत महत्वपूर्ण सहयोग पु-याउँदै आएको छ ।
कोभिडको महामारीका बावजुद, उद्यमी व्यवसायीहरूले ई–कमर्स तथा अन्य प्रविधिहरूको अधिकतम उपयोगमार्फत व्यवसाय मोडल परिवर्तन गरी आफूलाई समयको मागअनुसार अगाडि बढाउन मद्दत गरिरहेका छन् । यस थ्रीडी भर्चुअल एक्स्पोले पनि उद्यमशीलताको सोच राखी अगाडि बढ्न लागेको युवा जमातलाई समयअनुसार अगाडि बढ्न र व्यवसायिक अवसरहरूको खोजी गर्न सघाउने विश्वास गरिएको छ ।
NEPAL INDIA FRANCHISE EXPO, AWARDS & SUMMIT ले अहिलेको समयमा सम्भावित लगानीकर्ता र साझेदारहरुलाई प्रविधिका माध्यमबाट सुरक्षित रूपमा आ–आफ्नै घरमा रही एकै ठाउँमा जुटाउन सहयोग गर्ने छ । भर्चुअल एक्स्पोले व्यवसायी र विज्ञबीच आपसी संवाद, श्रव्य दृश्यका माध्यमबाट सबै तहका उद्यमीहरू, लगानीकताहरूलाई भेट गराई व्यवसायिक अवसरहरूको उत्खनन्, विश्वमा पछिल्लो व्यवसायिक अवस्थाका बारेमा जान्ने बुझ्ने अवसरसमेत जुटाउने छ ।
अन्तमा, नेपाल र भारतमा रहेका सबै अग्रणी ब्रान्डहरूलाई यस भर्चुअल प्लेटफर्ममा भाग लिन आमन्त्रण गरिन्छ । कार्यक्रमका तीन दिन दुबै राष्ट्रका ब्रान्ड र लगानीकर्ताहरू निजी क्षेत्रका तर्फबाट व्यवसायीहरूको उद्देश्य, इच्छा र लक्ष्य अनुरूपका व्यवसायिक सम्भावनाहरूको नयाँ ढोका खोल्न सफल हुने विश्वास गरिएको छ ।
प्रकाशित समय १५:४६ बजे

















